नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू प्रतिनिधि सभा पुनर्स्थापनाकै पक्षमा रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ।
ओली र प्रचण्ड-नेपाल समूहमा नेकपा विभाजित देखिए पनि गौतम पार्टी एकताकै पक्षमा आफू उभिएको बताइरहेका छन्।
गौतमले आज आफूपक्षिय भेला ललितपुरको धोविघाटमा थिए। उक्त भेलामा उनले आफू प्रतिनिधि सभा पुनर्स्थापनाकै पक्षमा रहेको बताए।
तर प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले अदालतले के भन्छ त्यो निर्णय मानेर जानुपर्ने उनले बताए।
‘मेरो भित्री चाहना प्रतिनिधि सभा पुनर्स्थापना नै हो,’ गौतमले भने, ‘तर सर्वोच्चले जे निर्णय गर्छ त्यही मान्नुपर्छ। सर्वोच्चले निर्वाचन भन्यो भने निर्वाचनमा जानुपर्छ तर भोट नेकपालाई नै दिनुपर्छ।’
उनले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भयो भने पार्टी एकता गर्न आफूहरूसँग दुई वर्ष समय हुने बताए।
आफूलाई नेकपाका दुवै तर्फबाट पार्टीमा आउन भने पनि आफू बाँचुञ्जेल नेकपा एकतामा लागिरहने उनले बताएका छन्।
गौतमले अब नेकपामा साढेँ २१ लाख भोट आउने पनि दाबी गरेका छन्। कांग्रेसले भने मत बढाउने उनको भनाइ थियो।
पहिलेको चुनावमा सबै मिल्दा पनि दुई तिहाइ नआएको उल्लेख गरेका उनले थपे, ‘हिजो जुटेर पनि दुई तिहाइ आएन। तर अहिले फुट्दा पनि हाम्रा नेता दुई तिहाइ आउँछ भनिरहेका छन्।’
उनले आफूसँग केन्द्रीय सदस्य हरि पराजुली मात्रै रहेको पनि बताए।
‘एकताका पक्षमा धेरै कार्यकर्ता छन्,’ उनले भने। ओली र प्रचण्डसँग रहेका धेरै नेताहरू पनि एकताको पक्षमा रहेको दाबी गौतमको थियो।
उनले आफूले कसैसँग पनि अध्यक्ष नमानेको दाबी गरेका छन्। तर पार्टी एकताका लागि संयोजक बनाउन प्रधानमन्त्री ओलीसँग आफूले भनेको उनले बताए।
संसद भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री ओलीको कद बढ्ने उनले बताए। तर प्रधानमन्त्री ओली प्रतिनिधि सभा विघटनतिर लागेको उनको भनाइ थियो।