नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन्।
नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले असंवैधानिक रूपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताइन्।
संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ।
विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत् बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताए।
संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनको भनाइ छ।
नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।
बुधबारदेखि सुरू भएको यस धर्ना शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ।