प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र प्रशंसा भएको बताएका छन्।
कम्युनिष्ट प्रधानमन्त्रीहरूले प्राय: पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिएनन्। तर नेपाल कम्युनिष्ट पार्टी ओली पक्षका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गत माघ १२ गते बिहान पशुपतिनाथ मन्दिर पुगेर संकल्प पूजा गरेका थिए।
प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिर धाएकोमा चुनावसँग जोडेर चर्चा भइरहेका छन्।
प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेको तीन दिनपछि उनका सल्लाहकार थापाले पुन: यो विषयलाई प्रष्टाउन खोजेका छन्- सामाजिक सञ्जालमा ओली र प्रचण्डका फोटा राखेर।
पशुपतिनाथमा पूजाआजाका लागि पुगेका प्रधानमन्त्री ओली र भैंसी पूजा गरिरहेका पुष्पकमल दाहाल प्रचण्डका बेग्लाबेग्लै तस्बिर फेसबुकमा राखेर बिहीबार बिहान सल्लाहकार थापाले पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन भनेका छन्।
‘प्रधानमन्त्री एवं पशुपति विकास काेषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरकाे भ्रमण, निर्माण कार्यकाे निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयाे,’ उनले लेखेका छन्, ‘सुनकाे जलारी निर्माणकाे मन्दिरकाे याेजनामा जम्मा रहेकाे ६५ कराेड बजेटमा सरकारका तर्फबाट ३० कराेड उपलब्ध गराउने प्रतिबद्धताकाे घाेषणा गर्नुभयाे।’
थापाका अनुसार पहिले पित्तल र तामाकाे जलारी रहेकाेमा अब १४१ किलाे सुनकाे जलारी निर्माणकाे सुनिश्चितता भएको छ।
‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँकाे यस कार्यकाे सर्वत्र प्रशंसा भएकाे छ,’ उनले भनेका छन्।
थापाले राखेको दोस्रो तस्बिर प्रचण्डको छ। ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेपकपामा प्रचण्ड-नेपाल समूह बनाएर प्रचण्ड विरोधका कार्यक्रम गरिरहेका छन्।
‘पुष्पकमल दाहाल "प्रचण्ड" ले आफ्नाे शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियाे। भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणकाे लागि पूजा गर्नुजस्ताे स्वभाविक मानिँदैन। बुझ्ने आआफ्नै स्तर हुन्छ।फरकचाहिँ यत्ति हाे!’ उनले भनेका छन्।
तत्कालीन माओवादीका अध्यक्ष हुँदा २०६६ माघ २९ मा भैंसी पूजा गरेको भन्दै प्रचण्डको आलोचना भएको थियो। त्यसबेला उनले ग्रह शान्तिका लागि भन्दै भैंसी पूजा गरेका थिए।