बालाजु बाइपास सडकमा विरोध गर्दा पक्राउ परेका सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ परेका आठ जनालाई सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको अभियन्ताका वकिल जितेन्द्र बज्राचार्यले जानकारी दिए।
न्यायाधीश प्रकाशमान सिंह राउत र दीपककुमार कार्कीको इजलासले उनीहरूलाई छाड्न आदेश दिएको हो।
'उहाँहरूलाई गैरकानुनी रूपमा थुनिएको हो। त्यसैले थुनामा राख्न नमिल्ने आदेश सुनाइएको हो,' उनले भने, 'अहिले कागजी प्रक्रिया भइरहेको छ।'
महानगरीय प्रहरी वृत्त, बालाजुले गत बुधबार काठमाडौं महानगरपालिकाले बाइपास सडकमा बनाउन लागेको सूचना केन्द्रका बारहरू भत्काएको भन्दै ६ जना स्थानीयलाई पक्राउ गरेको थियो।
सुरूमा प्रहरीले मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठलाई पक्राउ गरी लगेको थियो। त्यस्तै उनीहरूलाई पक्राउ गरेपछि काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र विरोचन श्रेष्ठ प्रहरी कार्यालयमा पुगेका थिए।
त्यही क्रममा उनीहरूले पक्राउ पर्नेहरूसँग नेपाल भाषामा संवाद गरेका थिए। प्रहरीले नेपाल भाषामा बोल्न रोकेपछि विवाद भएको थियो। त्यसैक्रममा अभियन्ता दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
'कुनै पनि व्यक्तिलाई थुनामा राख्दा कानुनसम्मत उचित कारणसहित वस्तुनिष्ठ आधार उल्लेख हुनुपर्नेमा यी निवेदकले के-कस्तो अपराधिक कार्य गरेको भन्ने स्पष्टसँग खुल्न आएको देखिएन। जसबाट यी निवेदकलाई आफ्नो सम्पत्ति रक्षार्थ विचार र अभिव्यक्ति व्यक्त गरेको कारणबाट पक्राउ गरेको देखिन्छ,' सर्वोच्च अदालतले जारी गरेको आदेशमा लेखिएको छ।
आदेशमा उनीहरूले राज्यविरूद्धको के-कुन कसुर गरेको भन्ने स्पष्ट नै नगरी पक्राउ पूर्जी दिइएको पनि उल्लेख छ। म्याद थप माग र म्याद थप आदेश गरेको पनि स्पष्ट आधार र कारण मिसिल संलग्न कागजबाट खुल्न सकेको नदेखिएको भन्दै अदालतले निवेदकहरूको थुना गैरकानुनी बताएको छ।
निवेदकहरूलाई मंगलबारै थुनामुक्त बनाउन सर्वोच्चले आदेश जारी गरेको हो। उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। सोमबार म्याद सकेपछि थप पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको थियो।
रिहा भएलगत्तै मंगलबार साँझ पाँच बजे इन्द्रचोकमा हुने मैनबत्ती र्यालीमा उनीहरू सहभागी हुने अभियन्ता रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।