प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिखित रूपमै निर्वाचन आयोगलाई आफूलाई मान्यता दिन किन ढिलाइ गरेको भन्दै प्रश्न गरेको छ।
उक्त समूहका नेताहरू शुक्रबार दिउँसो निर्वाचन आयोग कार्यालय कान्तिपथमा पुगेर बहुमतबाट सबै प्रक्रिया पूरा गर्दा पनि निर्वाचन आयोगले मान्यता नदिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन्।
उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेका थिए।
जवाफमा थपलियाले यस विषयमा आयोगले आइतबारदेखि छलफल थाल्ने बताएको प्रचण्ड-नेपाल समूहका नेता राजेन्द्र पाण्डेले जानकारी दिए।
प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएर नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ। तर निर्वाचन आयोगले उक्त समूहको यो निर्णयलाई मान्यता दिएको छैन।
यसअघि बिहीबार केपी शर्मा ओली समूहका सांसद महेश बस्नेतले निर्वाचन आयोगमा पुगेर सांसदहरू पार्टी एकताको पक्षमा रहेको बताएका थिए।