प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शनिबार बस्ने आफ्नो समूहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन्।
भैसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन्।
जवाफमा गौतमले हाँसेर कुनै जवाफ नदिएको ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सेतोपाटीलाई जानकारी दिए।
'उहाँ लडेर घाइते भएको थाहा पाएपछि हामी उहाँको स्वास्थ्य अवस्था बुझ्न गएका हौं। सामान्य कुराकानी मात्रै भयो,' उनले भने, 'त्यहीँ बेला बैठकका लागि आग्रह गरेको हो।'
प्रधानमन्त्रीसँगै स्थायी कमिट सदस्य नेम्वाङ, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत भैसेपाटी पुगेका थिए।
गौतम निकट स्रोतका अनुसार उनी घरमै लडेर आँखामाथि चोट लागेको छ। चोट लागेको ठाउँमा गौतमले ह्याण्डिप्लस लगाएका छन्। प्रधानमन्त्री ओली र गौतमबीच व्यक्तिगत कुराकानीबाहेक अरू नभएको उनी निकट स्रोतको दाबी छ।
नेकपा विभाजनमा गौतम कुनै समूहमा पनि लागेका छैनन्। प्रधानमन्त्री ओलीले आफ्ना समूहका सांसदको बैठक शनिबार बालुवाटारमा बोलाएका छन्। गौतम राष्ट्रिय सभाका सांसद हुन् भने उनकी पत्नी तुलसा थापा प्रतिनिधि सभाकी सांसद हुन्।
शुक्रबार प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।
नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुपर्छ।
नेकपामा प्रतिनिधि सभामा १ सय ७२ (१ जना सभामुख र निधन भएको समेत गरि १ सय ७४) सांसद छन्। राष्ट्रिय सभामा ४९ (अध्यक्षसहित ५०) सांसद छन्।