प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ साललाई निरर्थक हुन नदिएको बताएका छन्।
नयाँ वर्ष २०७८को अवसरमा बुधबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको महामारी र राजनीतिक अस्वस्थताका बाबजुद् पनि २०७७ लाई निरर्थक हुन नदिएको बताएका हुन्।
उनले मेलम्चीको पानी काठमाडौंमा ल्याउनु गत वर्षको सबैभन्दा ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरे।
'अरू धेरै असाधारण र दूरगामी प्रभाव पार्ने योजनाहरू सुरू गर्यौं,’ प्रधानमन्त्री ओलीले भने।
उनले कोरोना महामारीको क्षति कम गर्न पनि सरकार सफल भएको दाबी गरे। त्यस्तै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण मार्गमा ल्याएको विषय पनि ठूलो सफलता भएको उल्लेख गरे।
उनले २०७७ सालमा धेरै सभागृह बनाएको बताए।
‘लुम्बिनीमा र ललितपुरको गोदावरीलगायत अरू धेरै सभाहल बनाउने काम सकिएको छ,’ प्रधानमन्त्री ओलीले भने,‘गत वर्ष नै हामीले संसद भवनको निर्माण पनि सुरू गरेका छौं।’
उनले आफ्नो सरकारले जनतामा आशा जगाउने काम गरेको दाबी गरे।
'२०७७ साल राजनीतिक, आर्थिक र सामाजिक कुनै हिसाबले असफलताको वर्ष होइन,’ प्रधानमन्त्री ओलीले भने।