नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ। बैठकमा जेठ ६ गते हुन लागेको राष्ट्रियसभा निर्वाचन र बैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा लिन लागेको विश्वासको मतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
बैठकपछि सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पक्षका उम्मेदवारलाई जिताउन लागि पर्ने निर्णय भएको जानकारी दिए।‘यो निर्वाचनमा नेकपा एमालेको उमेदवारलाई जिताउने गरी तयारी छ। जितलाई सुनिश्चित हुने गरी कुरा भएको छ’ ज्ञवालीले भने। राष्ट्रियसभा निर्वाचनको उम्मेदवारका विषयमा भने निर्णय भइनसकेको उनको भनाइ छ।
मन्त्री ज्ञवालीका अनुसार साथै २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन लागेको विषयमा पनि आजको स्थायी समिति बैठकमा कुराकानी भएको थियो। विश्वासको मत प्राप्त गर्नेगरी तयारी अघि बढाउने भन्ने छलफल बैठकमा भयो।
बैठक सकिने बित्तिकै ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन्। अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल जारी छ।
स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका छन्।
त्यसअघि ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए। तर कांग्रेसले विश्वासको मत दिन नसकिने प्रष्ट बताएको छ।
प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सारिरहेका छन्।