नेपाली कांग्रेसको संगठन विभागले कोरोना पीडित मजदुर तथा रोजगार गुमाएकाहरूलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ।
संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गरेको हो।
कोरोना महामारीको संकटका बेला एकतावद्ध भएर लड्न सबै तह र तप्कालाई पनि कांग्रेसले अनुरोध गरेको छ।
स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
साथै आइसोलेसन केन्द्रहरू, होल्डिङ सेन्टर बनाउन पनि माग गरिएको श्रेष्ठले उल्लेख गरेका छन्।
सीमा नाकाबाट नेपाल भित्रने सबैलाई पिसिआर गर्न पनि कांग्रेसको माग छ।
अस्पतालहरूमा शय्या थप तथा अक्सिजनलगायत आवश्यक सामग्रीको व्यवस्था गर्न पनि सरकारसँग कांग्रेसको माग छ।