नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने शय्यादेखि भेन्टिलेटर व्यवस्थापन गर्न सरकार चुकेको बताएका छन्।
उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको उल्लेख गर्दै कोरोनाविरूद्ध खोप लगाउने दायित्वबाट सरकार विमुख भएको बताएका छन्।
तीन महिनाभित्र सबै नेपालीलाई खोप दिने भने पनि सरकारले त्यसप्रतिवद्धता अनुसार काम नगरेको पौडेलको भनाइ छ।
‘सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फसेको कारण नागरिकलाई सहज र सर्वसुलभ रूपमा कोरोना खोप दिलाउने दायित्वबाट विमुख भएको छ,’ पौडेलले फेसबुकमा लेखेका छन्।
कमिसनको चक्करमा लागेर भारतबाट ल्याउने भनिएको खोप स्वदेश ल्याउन ढिलाइ भइरहेकोमा उनले आपत्ति पनि जनाएका छन्।
कोरोना संक्रमित दिनप्रतिदिन वृद्धि भइरहे पनि शय्या, अक्सिजन, भेन्टिलेटरलगायत व्यवस्थापनमा सरकार चुकेको उनले बताए।
‘संक्रमितको उपचारमा चाहिने शय्या, आइसीयू, भेण्टिलेटर, अक्सिजन, जनशक्ति, आइसोलेसन सहितको व्यवस्थापनमा सरकार चुकेको कुरा अस्पतालमा देखिएको बिरामीको चित्कारले प्रष्टयाउँछ,’ पौडेलले भनेका छन्।