नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले पार्टी कार्यालय भवन कोरोना संक्रमितलाई राख्न आइसोलेसन सेन्टरका लागि दिएको छ।
कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले दिनप्रतिदिन कोरोना संक्रमित संख्या वृद्धि भइरहेको र उनीहरूलाई राख्न आइसोलेसन केन्द्र सञ्चालन गर्ने ठाउँ अभाव देखिएकोले पार्टी कार्यालय भवन प्रयोग गर्न दिने निर्णय गरिएको सेतोपाटीलाई बताए।
पार्टी कार्यालयमा आइसोलेसनसहित शय्या राख्न जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई आग्रहसमेत गरिसकेको न्यौपाने बताउँछन्।
तीनधारेस्थित कांग्रेस पार्टी कार्यालयअन्तर्गत विपी-गणेशमान मेमोरियलको दुइटा सभाहल आइसोलेसन केन्द्र निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गरिएको सचिव न्यौपानेको भनाइ छ।
गोरखामा कोरोना संक्रमित वृद्धि भएसँगै गोरखा अस्पतालमा आँगनमै राखेर संक्रमितको उपचार सुरू गरिएको छ।
यस्तै कांग्रेस गोरखाले अक्सिजनलगायत आवश्यक सामग्रीको जोहो गर्न मागसमेत गरेको छ।