प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चालु बजेट अधिवेशनबाटै प्रदेश १ को नामाकरणको प्रक्रिया सुरू गर्न प्रदेशसभामा प्रस्ताव गरेका छन्।
आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले बजेटमाथिको छलफल सकिएको भोलिपल्टबाटै यही अधिवेशनबाट प्रदेश नामाकरणको प्रक्रिया थालिने बताए।
‘माननीयज्यूहरूले नामाकरणको कुरा धेरै उठाउनुभएको छ’, उनले भने, ‘म प्रस्ताव गर्न चाहन्छु, यही अधिवेशनबाटै नाम टुंगो लगाऊँ। बजेटमाथिको छलफल सकिएको भोलिपल्टबाट त्यसबारे छलफल सुरू गरौं।’
यही अधिवेशनबाट प्रदेशको नामाकरण हुने प्रतिबद्धता मुख्यमन्त्री राईले संसदको हरेक अधिवेशनमा गर्दै आएका छन्। तर, अहिलेसम्म नामाकरणको प्रक्रिया भने अघि बढेकै छैन।