गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्।
मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री पोखरेलका पक्षमा ३१ मत आएको छ भने विपक्षमा २७ मत आएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा घोषणा गरेर सुनाएका थिए।
मुख्यमन्त्री पोखरेलका पक्षमा बहुमत सांसद देखिएका हुन्। मतदानमा ५८ जना प्रदेश सभा सदस्य सहभागी भएका थिए।
नेकपा एमालेले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिएको थिएन।
नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेललाई नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।
प्रदेश सभाको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको छ।
यसैबीच मुख्यमन्त्री पोखरेलले अब मन्त्रिपरिषद विस्तार गर्ने र यसअघि मन्त्री बनाएकालाई मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
कांग्रेस, जसपा र एक स्वतन्त्र सांसदलाई मुख्यमन्त्रीले विना विभागीय मन्त्री बनाएका थिए। धेरै दल मिलेर गठबन्धनबाट मुख्यमन्त्री बनेको र पछि बिबाद आउन सक्ने भएकोले छिट्टै विश्वासको मत लिइएको कांग्रेसका एक सांसदले बताए।
अब मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्री पोखरेललाई चुनौती छ किनभने कांग्रेसमै मन्त्री हुन आकांक्षी धेरै छन्।