जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्ता समिकरणका लागि गलत सम्झौता गरेका कारण पार्टी विभाजन भएको भन्दै ठाकुरनिकट सांसदमा असन्तुष्टि सुरू भएको छ।
विघटित प्रतिनिधि सभामा ठाकुरनिकट सांसद प्रमोद साहले प्रतिनिधि सभा विघटन गर्नेहरूलाई साथ दिन नसकिने बताए।
शुक्रबार सेतोपाटीसँग कुराकानी गर्दै साहले सरकारमा गए पनि प्रतिनिधि सभा विघटनलाई समर्थन नगर्न आफूहरूले दिएको सुझावलाई समेत अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले वास्ता नगरेको बताए।
'उहाँहरूको कमजोरीको त ठेगानै छैन, कति कमजोरी गरेको हो। पार्टीको निर्णय गरेर केही गर्नुपर्ने हो। किनकी पार्टी कसैको बपौती होइन। जे मन लाग्छ त्यही गर्ने होइन। पार्टीमा पार्टीको निर्णय हुनुपर्छ, व्यक्तिको होइन,' उनले भने,'कसैको दबाबमा मन्त्री बनाउने अनि कसैको दबाबमा कार्यकारिणी बनाउने काम भएको छ। कुनै प्रक्रियाका आधारमा नभइकन मनपर्दी ढंगले पार्टी सञ्चालन गरिएको छ। यस्तो भयो भने जनताबाट चुनिएकाहरूको के हालत हुन्छ?'
पार्टीमा सहकारीमा जस्तो व्यक्तिको हिस्सेदारी बढेकाले आफूहरूले भविष्य नदेखेको उनले बताए। सांसद पद खाइदिनेहरूले त्यसकै बैठक राख्नुको कुनै अर्थ नभएको समेत उनको भनाइ छ।
सर्वोच्च अदालतको आदेशले पार्टीबाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरिदिएपछि ठाकुर-महतोले बिहीबार काठमाडौंमा संसदीय दलका सदस्यहरूको बैठक गरेका थिए।
'अहिले दलको बैठक किन राख्नु। म त्यसको सदस्य छैन। माननीय पद उनीहरूले नै खाइदिएको हो। उनीहरूले दिएको होइन। जतिबेला मन लाग्यो त्यतिबेला खाइदिने हो। यो पद जनताले दिएको हो,' उनले भने,'पार्टीमा निर्णय नभई प्रतिनिधि सभा विघटनलाई सदर गर्नु गलत थियो। केपी ओलीले विघटन गरेर गलत भयो भन्नुपर्नेमा उल्टै समर्थन गर्ने काम भयो।'
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको गलत कदमलाई ठाकुर-महतोले साथ दिएकै कारण पार्टी विभाजनको मुखमा पुगेको साहको भनाइ छ।
अध्यादेशको भरमा सम्बोधन गरिएका मुद्दाहरू हारेपछि अहिले पार्टीले लिएका मुद्दाहरू घर न घाटको भएको उनले बताए। आफू जिल्लामा भए पनि ठाकुर-महतोले बोलाएको बैठक अर्थहीन रहेको उनले बताए।
ठाकुर-महतोले बिहीबार विघटित प्रतिनिधि सभामा सांसदहरूको बैठक बोलाएका थिए। उनीहरूको पक्षमा २० जना सांसद भएको भए पनि अधिकांश उपस्थित थिएनन्। काठमाडौंमा उपलब्ध सांसदको अनौपचारिक बैठक बोलाइएकाले बैठकमा थोरै सांसद उपस्थित हुनु स्वभाविक रहेको जसपा कार्यकारिणी सदस्य केशव झाले सेतोपाटीलाई बताए।
आफ्नो विशेष काम परेकाले बैठकमा उपस्थित हुन नपाएको अर्का अनुपस्थित निवर्तमान सांसद् विमल श्रीवास्तवले सेतोपाटीलाई बताए।