सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु दुबै गुमाएका बालबालिकालाई १५ वर्षको उमेरसम्म मासिक पाँच सय रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले कुनै पनि संरक्षक नरहेका बालबालिकाहरूको स्याहारका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले आर्थिक सहायता उपलब्ध गराउने नीति लिइएको बताए।
त्यसका लागि सम्बन्धित वडाको सिफारिस अनुसार गाउँपालिकाले रकम उपलब्ध गराउने भएको छ।
कपुरकोट गाउँपालिकाको ९ औं गाउँसभाले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरूप २५ हजार रूपैयाँ उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए।
त्यस्तै, डिप्लोमा तीन वर्षे कार्यक्रम प्राविधिक शिक्षालयको नयाँ सम्बन्धन लिन चाहने सामुदायिक विद्यालयलाई गाउँपालिकाले भौतिक सुधारको लागि एकमुष्ट तीन लाख अनुदान दिने व्यवस्था गरिएको खड्काले बताए।
गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४७ करोड ५५ लाख ५८ हजार रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।