प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक हालैको प्राकृतिक विपतको व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
हालैको बाढी पहिरोेले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिएका हुन्।
सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै उनले भने, ‘यस कुरामा कसैले राजनीति गर्नु हुन्न, मानवीय हिसाबमै जानुपर्छ।’
पुल बगाएको स्थानमा बेलिब्रिजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताए। साथै, उनले बाढीको पूर्वसूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्नसमेत निर्देशन दिए।
यस्ता विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराइनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने, ‘त्यस्ता ठाउँमा दाताहरू पुगेका छन्, उनीहरूलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन। लगेर चाउचाउ बाँडेपछि केटाकेटी खुसी होलान्। तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो।
प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलको मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न, बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वेमार्फत् पुनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको छ।
यसैगरी विस्थापित ४ सय परिवारको अस्थायी बसोबासको लागि प्रति परिवार ८ बन्डलजस्ता उपलब्ध गराई अस्थायी बासस्थान निर्माण गर्ने नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारू गर्न र भत्केका घरहरूको पुननिर्माण र पुरिएका घरहरूलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे, भत्केका मोटर बाटोहरूको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ।
यसैगरी भत्केका मोटर पुलमा अस्थायी (बेलिब्रिज वा कज वे निर्माण गरी) मोटर बाटो सञ्चालनमा ल्याउन र मानिस आवतजावतको लागि तत्कालै झोलुंगे पुल निर्माण गर्न माग गरिएको छ।
साथै, ध्वस्त भएको सञ्चार र विद्युत प्रसारणको लाइनको मर्मत गरी तत्कालै विद्युत आपूर्ति सञ्चालन गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ।
यसका साथै नदी किनारमा तार जाली लगाई पुरानै मार्गमा फर्काउने व्यवस्था, जनतालाई जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण, नदी किनारमा सञ्चालन भएका कृषि बाली, पशु चौपाय, कृषि फर्म होटल, रिसोर्ट, पसल र अन्य व्यवसाय सञ्चालन गर्नेहरूको लगानी संरक्षण गर्न बैंकको व्याज मिनाहा र कर्जा पुनः संरचना गर्ने व्यवस्था गर्न र नदी किनारामा बाढीको पूर्व जानकारी दिने साइरन तत्काल जडान गर्न पनि माग गरिएको छ।
सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अविरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु, ४०० परिवार विस्थापित भएका छन्।