नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई माफी दिएको प्रसंगलाई व्यंग्य गरेका छन्।
शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ओली अझै नसुध्रिएको बताए।
'माधव नेपाललगायत माननीय सदस्यमाथि आममाफी दिइन्छ भनेर महाराजधिराजबाट हिजो आदेश आयो। हामी गदगद भयौं हामीलाई आममाफी भएछ भनेर गदगद भएर हाँस्नु!'उनले भने,'स्पष्टीकरण सोध्नु गलत थियो, मैले फिर्ता लिएँ भनेर भनेको भए के कद घट्ने थियो त? थिएन नि। डोरी जल्यो तर, त्यसको गाँठो जस्ताको तस्तै। म त मानिस सुध्रिए होलान् भनेर सोचेको अझै नसुध्रिने।'
आफूले बोल्दा संयमता अपनाएको भए पनि ओलीबाट त्यस्तो नभएको वरिष्ठ नेता नेपालको भनाइ छ।
'हिजो मैले एकतामा असर पर्ला भनेर कीर्तिपुरमा बोल्दा संयम भएर बोलें। दिउँसो भक्तपुरमा गएर पनि एउटा कार्यक्रम गरें त्यहाँ पनि संयम नै भएँ। तर, यता माधव नेपालको घर वरिपरि गएर बाँदरे प्रवृत्ति गर्ने देखियो,'उनले भने,'माधव नेपाललाई तर्साए तर्सिन्छ भन्न खोजिएको हो कि कसैका तर्साउने कामले केही हुँदैन। कस्ता कस्ता त कहाँ गए कोही कसैको डरधम्की र त्रासले डराउँदैन। हामी विशेष धातुले बनेका हौं।'
आफूले सिंगो कम्युनिष्ट पार्टी एकताबद्ध बनाएर जान चाहेको भन्दै उनले दलाल पुँजीपति वर्ग त्यसमा पनि आसेपासे पुँजीवादले कम्युनिष्टलाई गाँजेको बताए।