प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा यति धेरै विरोध आउला भन्ने नसोचेको बताउँदै यसबारे छलफल गर्न परे गर्ने बताएका छन्।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकमा उपस्थित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठको नियुक्तिलाई लिएर बैठकमा लगभग सबैले असन्तुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री देउवाले छलफल गर्दै गरौँला भनेका थिए।
श्रेष्ठ आफैंले पनि स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्ति गरेकोमा असन्तुष्टि जनाएको बताए।
'एक त गठबन्धनसँग अघिल्लो दिन कुरा हुँदा स्वास्थ्य राज्यमन्त्री बनाउने कुरै भएको थिएन। गठबन्धन संस्कृतिमा सरसल्लाह नगरी निर्णय गर्ने कुरा राम्रो हुन्न, यसले विश्वासको वातावरण कायम राख्न गाह्रो हुन्छ भन्ने आधारमा नियुक्तिको विरोध गरेको थिएँ,' उनले भने, 'दोस्रोचाहिँ स्वार्थ बाझिनेलाई कुनै जिम्मेवारी दिने कि नदिने भन्ने नीतिगत प्रश्नसँग सम्बन्धित छ। व्यक्तिगत रूपमा उमेशजी राम्रै हुनुहोला मेरै पनि मित्र हुनुहोला तर स्वार्थ बाझिएकालाई नियुक्ति दिन हुन्न भन्ने कोणबाट जुन आलोचना भएको छ त्यो सही नै छ भन्ने कुरा मेरो थियो।'
राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले पनि उमेश श्रेष्ठ नियुक्तिको विरोध गरेको उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।
'हाम्रो अध्यक्षले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई गरिएको नियुक्तिको विरोध गर्नु भएको हो। स्वार्थ बाझिने गरी नियुक्ति गरेर गल्ती गर्नुभयो जसको मैले बाहिरै भण्डाफोर गरें। नगरेर के गर्ने भन्नुभएको थियो,' उनले भनिन्।
उनका अनुसार त्यसपछि देउवाले आगामी दिनमा गठबन्धनसँग सल्लाह गरेरमात्र नियुक्ति गर्ने बताए।
उपस्थित अरू नेताहरूले पनि यसबारे आलोचना गरेका थिए। माओवादी नेता श्रेष्ठका अनुसार सबैको आलोचना सुनेपछि देउवाले शिक्षा लिँदै जाने बताएका थिए।
'उहाँले ‘लेसन’ लिनपर्छ भन्नुभयो। मैले पनि हामीले ‘लेसन’ त लिनैपर्छ तर जुन कुरा ‘करेक्सन’ गर्न लायक छ त्यसलाई ‘करेक्सन’ पनि गरौं भनेको थिएँ,' नेता श्रेष्ठले भने।
त्यसपछि भने देउवाले आफ्नै साथीहरूले समेत विरोध गरेको भन्दै सल्लाह गर्दै जाने बताए।
'अप्ठेरोमा म छु नि। मेरै साथीहरूले पनि धेरै चर्को विरोध गर्या छन्। तर अब गरिहालियो। अब लेसन लिने तर यसमा केही गर्ने भए फेरि सल्लाह गरौँला नि। गठबन्धनसँग सल्लाह नगरी अब केही गर्दिनँ,' देउवालाई उद्धृत गर्दै श्रेष्ठले भने।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छ।
बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत थिए।
गठबन्धन बैठकमा एमाले नेता माधवकुमार नेपाल भने आज अनुस्थित रहे। तर उनले आफ्ना तर्फबाट विजय पौडेललाई बैठकमा पठाएका थिए।