सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ।
यसअघि केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटलाई प्रतिस्थापन गर्दै अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले बजेट ल्याएका हुन्।
कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए।
यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो।
पाँच लाख गरिबलाई सरकारले १० हजारका दरले पैसा दिने
सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै कोरोना महामारीलगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन्।
अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ।
दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा
सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ।
आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका छन्।
सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो।
बैठक भत्ता काटेर सरकारले छुट्टायो कोरोना खोप किन्न ५ अर्ब
सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ।
आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए।
विपन्न परिवारलाई काठमाडौंका १० ठाउँमा खाना खुवाइने
विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने भएको छ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै सो घोषणा गरेका हुन्।
सो काम सामाजिक संस्थाको सहयोगमा गर्ने उनले बताए।