प्रदेश २ को नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेतामा शत्रुधन महतो चयन भएका छन्।
आज बसेको संसदीय दलको बैठकले महतोलाई सर्वसम्मतले दलका नेता चयन गरिएको हो।
उनी पार्टी विभाजनअघि समेत तत्कालीन नेकपा एमालेका संसदीय दलका नेता थिए।
२१ जना प्रदेशसभा सदस्य रहेको तत्कालीन एमालेबाट १३ जना सांसदले नेकपा समाजवादीमा सनाखत गरेका थिए।
संसदीय दलको नेतामा महतोलाई चयन गरिए पनि पार्टीको उपनेता र सचेतक भने चयन गर्न बाँकी रहेको प्रदेशसभा सदस्य बेची लुंगेलीले बताइन्।
प्रतिपक्षमा रहेको नेकपा समाजवादी छिट्टै प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ।
दुइटा मन्त्रालय दिएर एकीकृत समाजवादीलाई सरकारमा भित्र्याउने सत्तारूढ दल जनता समाजावादी पार्टीको तयारी छ। यद्यपि कुन मन्त्रालय दिनेबारे अझैसम्म टुंगो लागिसकेको छैन।