प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागिपरेको आरोप लगाए।
तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने र त्यसले मात्रै देश र जनताको हितमा काम गर्ने दाबी दोहोर्याए।
‘सम्भवत १५ महिना पछि चुनाव हुन्छ। एमालेको सरकार आउँछ। र त्यसले मात्रै यो काम गर्छ। म अहिलेको सरकारले सुन्ने गरी भन्न चाहन्छु। अहिलेको सरकारले सुनोस् बैशाख भित्र काठमाडौंमा पानी झारेर देखाओस् ऊ आफैंले नापेर जोखेर भनेको कुरा उसले देखाओस् बैशाखसम्ममा काठमाडौंमा पानी झारेर देखाओस् तर म उहाँहरुलाई ईख छ भने प्रतिपक्षलाई त मेख मार्ने गरी देखाउनुहोस्’, ओलीले भने, ‘गोदावरीमा गएर केपी ओलीले यस्तो बोलेको थियो। सक्दैन सरकारले भनेको थियो। झार्यौं पानी भन्न सकोस्। अँ त्यति गर्यो भनेर कमसेकम मैले भन्न परोस्। तर त्यो गर्नेवाला छैन। मैले फेरि त्यसबेला बैशाखमा भाषण गर्नेछु। वैशाखमा पानी झार्दैनन् भने झारेनन्। यिनीहरुले सक्दैनन् भनेर म फेरि दोहोर्याउनेछु। अहिलेको मैले धेरै केही भनिरहनु पर्दैन। बेहाल अवस्थाको छ।’
ओलीले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्नसमेत नसकेकोमा आपत्ति जनाए।
‘नेपालको आकाशमा विदेशी हेलिकप्टर घुम्यो भन्छन् होकि, होईन भन्न सक्दैन। हो भने हो भने हुन्थ्यो। होईन भने होईन भने हुन्थ्यो नि। होकि होईन अहिलेसम्म पनि चुप छ। तुईन काटेर झराएर मारिन्छ एउटा नेपाली। नबोल है भनेर पत्रकारलाई सर्कुलर गर्छ। छानवीन समिति बनाउँछ त्यसले भन्छ–यस्तो दुर्घटना भएकै हो। त्यो रिर्पोट लुकाउन खोज्छ’, उनले भने, ‘दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन। उनीहरुसँग भन्ने आँट त गर्दैन। दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन। आफ्नो देशको नागरिकका लागि आफ्नो देशको हक अधिकारका लागि आफूले न्याय पाउनका लागि बोल्न सक्दैन भने कस्तो सरकार हो ? अरुलाई अरुको धन्दा यो सरकारलाई खानाको धन्दा। यसको ध्यान अन्त छैन।’
अध्यक्ष ओलीले एमाले भित्र नेतृत्व स्थापित हुन नदिन विरोधीले देवत्वकरणको हल्ला फिजाईरहेको दाबी गरे।
उनले आफूहरू कसैले पनि देवत्वकरण नगरेको तर नेतृत्वको वरीपरी पार्टी र आन्दोलनलाई एकीकृत गराउने काम गरिरहेको बताए। अध्यक्ष ओलीले विरोधीहरु आफू बाँचेको र कार्यकर्ता र जनताले माया गरेकोमा चिन्तित भएको पनि बताए।
‘एउटा हल्ला चलाएका छन्। भन्ने गर्छन। त्यहाँ नेकपा एमालेका बोल्नै पाईदैन। उनीहरुले के खोजेका छन भने के सोचेका छन भने यहाँ बहुत झगडा भईदिए हुन्थ्यो मारकाट भए हुन्थ्यो। नेता कोही स्थापित हुन नपाए हुन्थ्यो। सब खुईलिए हुन्थ्यो। सबैलाई खुईल्याउन पाए हुन्थ्यो। आफ्नै पार्टी भित्र अनेक लाञ्छना लगाउन पाएदेखि उसैलाई समाएर भन्न पाईन्थ्यो अनि उनीहरु देवत्वकरणको कुरा उठाउँछन्। हामी कसैलाई देवता मान्दैनौं। देवत्वकरण गर्दैनौं तर लिडरसिप हुन्छ लिडरसिपका वरिपरी पार्टी एकीकृत हुन्छ’, उनले भने, ‘आन्दोलन एकीकृत हुन्छ। त्यो स्वभाविक हो। पुष्पलालका वरीपरी, पुष्पलालले अघि सारेका विचारका वरीपरी हामी सबै आजसम्म गोलबन्द भएका छैनौं? कार्लमाक्र्सले अघि सारेका दर्शन सिद्धान्तहरुको वरीपरी हामी गोलबन्द भएका छैनौं? लेलिनका वरीपरी सिँगै रुस गोलबन्द भएन ? माओको वरीपरी सिँगै चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेन ? छरिएका किसान, न हतियार छ न केही। त्यस्तो अवस्थामा बैदेशिक शक्ति आर्जनगरेको सत्ताधारीलाई खाली हात भएका छरिएर रहेका गाउँका किसानहरुलाई एकीकृत गरेर कसरी आन्दोलन गरियो। त्यसबेला पनि यस्ता कुरा चले। मदन भण्डारी हुँदा मदन भण्डारीलाई देख्न सकिएन। पुष्पलाल हुँदा पुष्पलाललाई एउटा महाधिवेशन पनि गर्न दिइएन। तपाई नेता हो भन्न छोडिएन तर हुर्मत लिने काम पनि सधैं भईरह्यो। नेता हो भन्ने तर महासचिव अर्को बनाईहाल्ने। पुष्पलालका विचार पास हुने तर उनका विचार एकातिर पन्छाउने अरुले मनपरी गर्ने। त्यसखालका कुराहरु रहे।’
आफूहरूको एकता तोड्न अनेकखाले षणयन्त्र भइरहेको ओलीले आरोप लगाए।
‘नेतृत्व स्थापित भएन भने एउटा भनाई छ। नायकै नायकको झगडा भयो भने नायकै नायक हुनुपर्छ तर एकतावद्ध नायक। जस्तो हाम्रो टिम छ। हामी थुप्रो नेता छौं। तर एकतावद्ध छौं। हामी एकतावद्ध भएनौं भने सबै नेतै नेता भएर बुरुक्क बुरुक्क उफ्रेउ भने जुन दिन रानो हुँदैन त्यो दिन मौरीको गुड समाप्त हुन्छ। त्यसकारण हाम्रो एकतालाई तोडनका लागि अनेकखालका भ्रमहरु चलाई रहन्छन्। त्यसप्रति हामी सर्तक हुनुपर्छ’, उनले भने।
ओलीले आफू बाँचिरहेकाले विरोधीहरूलाई चिन्तित बनाएको टिप्पणी गरेका छन्।
‘अहिले हाम्रो विरोधीहरु दुईटा कुराले अत्यन्तै चिन्तित छन्। एउटा म बाँचिराखेको हुनाले चिन्तित छन्। यो विरामी हुन्छ, अप्रेशन गर्छ। फेरी किड्नी फेर्छ फेरि के गर्छ। फेरि बाँच्छ। बिरामी भयो फेरि बाँच्छ। एउटा त्यो। अर्को कुरा कार्यकर्ताले जनताले असाध्यै धेरै माया गर्छ। त्यसले एमालेलाई फाईदा पुग्छ। जनता गोलबन्द हुन्छन्। त्यसकारण चिन्तित छन्। बाँचेकैमा चिन्तित छन् त म के गरौं?’, उनले भने, ‘म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु। मलाई एउटा प्रिय साथीका रुपमा तपाईहरुले जुन विश्वास दिनुभएको छ। त्यो विश्वास एक थोपो पनि तलमाथि पर्ने छैन। देशको हित विरुद्ध जनताको हितको विरुद्ध प्रगतिको विरुद्ध पार्टीको हितको विरुद्ध एउटा पनि कदम मबाट चालिने छैन। म अहिले व्यक्तिको रुपमा होईन् एमालेको अध्यक्षको रुपमा भन्दैछु। नेकपा एमालेको अध्यक्षको रुपमा भन्दैछु। नेकपा एमालेलाई मलाई लाग्दछ नेकपा एमालेलाई बुहमतमा पुर्याएर यस्तोउस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याउनेछु।’
अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वमा सरकार ढाल्न लाग्नेहरु सबै विरोधी भएको बताए। उनले विरोधीले गालामा थप्पड हान्दा पनि शास्त्र पल्टाउने काम नगर्न पनि पार्टी पंक्तिलाई आह्वान गरे।
‘अब हामी आगामी दिनमा हामी धेरै अल्मलिनु हुँदैन। कहिले कहिले सिद्धान्त र व्यवहारमा हामी अलमलिन्छौं। विरोधी थप्पड हानिसक्छ गालामा। अनि हामी शास्त्र पल्टाउन थाल्छौं। शास्त्रले के भन्छ यो गालामा हान्ने विरोधी हो कि होईन? यो गालामा हान्नेलाई शास्त्रमा विरोधी मान्छ कि मान्दैन? शास्त्र पल्टाउन थाल्छौं। यति साह्रो शास्त्रवादी हुनुपर्ने जरूरी छैन’, उनले भने, ‘जो तपाईसँग लडिराखेको छ, त्यो विरोधी हो। जो तपाईसँग लडेको छैन सँगै काम गरिराखेको छ। त्यो मित्र हो। हाम्रो पार्टीको बिग्रिएका मान्छे को हुन जो पार्टी छोडेर गए। जो यहाँ छन उनीहरु सप्रेका हुन् भन्ने प्रमाण यो भन्दा अरु बढि केही चाहिन्छ? छर्लग छ नि।’
आफ्नो सरकार ढाल्न एमालेसँगै लडेर ज-जसले भूमिका खेले उनीहरू आफ्नो विरोधी भएको ओलीले स्पष्ट पारे। ‘जो हामीसँग लडिरहेका छन्। हाम्रो सरकार ढाल्न जो जोले भूमिका खेले। जसले हामीलाई प्रतिपक्षमा पुर्याए। कम्युनिष्ट सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाउनु अग्रगमन र क्रान्तिकारिता हो भनेर गए। नेकपा एमालेको सरकार ढालेर क्रान्ति गर्यौं भने। यो पार्टी काम लाग्दैन रे। भनेर केही मान्छेले गएर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरी खेले। उनीहरू हाम्रा विरोधी हुन्’, ओलीले अगाडि भने, ‘अरू पार्टी दर्ता गर्ने शिलशिला चलेको छ। यस पार्टीबाट यो पार्टीले देशलाई कहाँबाट कहाँ पुर्यायो भन्ने देख्दादेख्दै यसलाई सिध्याउनु पर्छ र अर्को पार्टी खोलेर त्यसबाट बनाउFछु भन्ने त्यो पनि कस्तो भन्दा मैले सुनेको थिएँ। गाईको पुच्छर तरेर बैतर्नी तर्छन् भनेर। अर्को, अर्को के को पुच्छर समातेर बैतर्नी तर्न खोज्यो कसैले भन्ने सुनेको थिएँ। अहिले अर्कै पुच्छर समातेर बैतर्नी तर्ने खेल तपाई हामीले देखेका छौं। हामी कुनै अन्यौलमा, अलमलमा पर्नु पर्दैन। हाम्रै पार्टीका कतिपय साथीहरु वर्ग सम्बन्धले गर्दा, भ्रमले गर्दा स्थानीय अन्तरविरोधले गर्दा कतिपय कुराले पार्टीबाट अलग भएका, अलमलमा परेका, भ्रममा परेका, तानेर लगिएका हुन सक्दछन्। त्यस्ता साथीहरुलाई फर्काउनुपर्छ। माथिबाट पनि हामी प्रयास गछौं। तल सबैतिरबाट पनि अलमलमा अलमलिएर गएका साथीहरुलाई भ्रममा परेका साथीहरुलाई फर्काउनका लागि प्रयास गर्न म साथीहरुलाई आग्रह गर्छु।’
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिए। उनले दाहालले २ दिन अघि २०६४ को जस्तै जसरी पनि कब्जा गरेर चुनाव जित्ने भनिराखेको स्मरण गराउँदै त्यस्ता खालको धाँधलीका अगाडि आफ्नो पार्टी नझुक्ने पनि बताए।
‘अब उहिले ६४ को जस्तै जसरी कब्जा गरेर जे हुन्छ मत पत्र च्यातेर हुन्छ कि बत्ती निभाएर हुन्छ कि जित्नुपर्यो भनेर कतिपयले भनि राखेका थिए। हामीले मत पत्र च्यात्ने अवस्था बन्न दिनु हुँदैन। मत पत्र च्यात्ने काम रोक्नुपर्छ। हामीले बत्ति निभाउने कुरा बन्द गराउनुपर्छ’, उनले भने, ‘निर्वाचनमा बैकल्पिक व्यवस्था गर्नुपर्छ। कहीँ पनि अन्यायका अगाडि झुक्दैनौं। अन्याय गर्दैनौं। अन्यायका अगाडि झुक्दैनौं। धाँधली गर्दैनौं धाँधलीका अगाडि झुक्दैनौं। कहिँ पनि हामी गुण्डागर्दी गर्दैनौं। गुण्डागर्दी गरेर कसैले जित्छु भन्ने ठान्छ भने त्यो कल्पना नगरे हुन्छ भन्ने कुरा बताई दिन चाहन्छु। त्यसको तयारी नेकपा एमालेले गर्नेछ। सबै ठाउँमा। यी कामहरुमा जुटनु पर्नेछ।’
अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासका लागि एमाले नेतृत्वको बहुमतको सरकार आवश्यक रहेको उल्लेख गर्दै सोही अनुसारको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।