प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मोतीपुर घटनालाई लिएर सरकारको आलोचना गरेको छ।
राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद खिमलाल भट्टराईले रूपन्देहीको मोतीपुरमा सुकुम्बासीको हत्या भएको बताए।
'सुकुम्बासीलाई लात हान्ने काम गरियो। दर्दनाक, अपराधजन्य काम भयो। मोतीपुर नयाँ औद्योगिक क्षेत्रमा पहिलादेखि नै केही सुकुम्बासी हुनुहुन्थ्यो। उहाँहरूको व्यवस्थापन गर्नुपर्थ्यो। दसैं आएको बेला गोली प्रहार भयो। चार जना निहत्था नागरिकको हत्या गर्ने काम भयो। अरूलाई दसैं आयो सुकुम्बासीका लागि दशा आयो', भट्टराईले भने, 'त्यही जिल्लाको गृह मन्त्री हुनुहुन्छ। उहाँले के सोचिराख्नु भएको छ?'
राष्ट्रिय सभामा एमालेले धारणा राखेर बैठकमा उभिएर विरोध जनाउँदै आएको छ।
प्रतिनिधि सभामा भने एमालेले रोष्टम घेराउसँगै नाराबाजी गर्दै आएको छ।
एमालेले प्रतिनिधि सभामा नयाँ नारा लगाएको छ।
सभामुखले पक्षपात गरेको र माधव नेपालहरूको संसदमा उपस्थितिलाई एमालेले गैरसांसदको प्रवेश भन्दै आएको छ।
एमालेले आजको बैठकमा 'कालो धन हामीलाई चाँहिदैन देश लुट्न पाइँदैन' भन्ने नारासँगै 'गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन' भन्दै नारा लगाएको हो।
रुपन्देहीको मोतीपुरमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा आइतबार ४ जनाले ज्यान गुमाएका थिए।
मोतीपुर ओद्योगिक क्षेत्रमा सुकुम्बासीको टहरा हटाउन गएका प्रहरीमाथि सुकुम्बासीले ढुङ्गामुढा गरेपछि झडप भएको थियो। झडपमा प्रहरी र सुकुम्बासी घाइते भएका छन्।
एमाले सांसदहरूको विरोध र नाराबाजीबीच दुवै संसदको बैठक अघि बढ्दै आएका छन्।
प्रतिनिधि सभाको बैठक कात्तिक ९ गतेसम्मका लागि स्थगित भएको छ। राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
सम्बन्धित समाचार:
कर्फ्यू लागेपछिको रूपन्देही (तस्बिरहरू)