राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरूङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले उक्त कुरा बताएका हुन्।
उनले संविधान सभाको पहिलो बैठक भएको करिब १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको बताए।
अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिहरूको रणनीतिक थलो बनेको बताए।
उनले नेपालमा हरेक महत्वपूर्ण निर्णयमा बाह्य शक्ति हाबी भइरहेको बताए।
उनले अहिलेको प्रजातन्त्रमा केही सीमित दलका सीमित नेताको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा ब्रह्मलुट गरिरहेको आरोप लगाए।
अध्यक्ष थापाले भने, ‘संविधान सभाको पहिलो बैठक भएको १३ वर्ष बित्न लाग्दा यो अवधिमा देश कहाँ जान भनेर हिँडेको थियो कहाँ आइपुग्यो, तपाईं हामी सबैलाई थाहा नै छ, राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भएको छ, अहिले नेपालमा बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रूपले बढ्दै गएको छ, नेपाल बाह्य शक्तिको रणनीतिक थलो बनेको छ, युरोप, अमेरिका, चीन र भारतहरूको रणनीतिक थलो नेपाल बन्दै गइरहेको छ, चाहे एमसिसी भन्नुहोस्, चाहे बिआरआई भन्नुहोस् यहाँ हरेक महत्वपूर्ण निर्णयमा बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रूपले बढ्दै गइरहेको छ, राष्ट्रियतालाई कमजोर बनाइएको छ, अहिले प्रजातन्त्र केही सीमित दलका सीमित नेताहरूको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा ब्रह्मलुट गरिरहेको छ।’