प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।
प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिमका पाँच जिल्लाका बाढीपहिरोपीडितको अवस्थाबारे जानकारी लिएका हुन्।
देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हेलिकप्टरमार्फत पुगेर प्रभावितहरूको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री देउवा बिहान ८ बजे काठमाडौंबाट सुर्खेतका आएका थिए।
सुर्खेतबाट डोटीको दीपायल पुगेका उनी सैनिक ब्यारेकमा ल्याण्ड भएका थिए। त्यहाँ बाढीपहिरोको प्रभावबारे ‘ब्रिफिङ’को कार्यक्रम थियो।
त्यहाँबाट देउवा हेलिकप्टरमै बझाङको चैनपुर पुगेका थिए।
त्यसपछि बैतडीको थलारा र ढुंगाडको हवाई अवलोकन गरेर देउवा डडेल्धुराको जोगबुडा पुगेका थिए।
उनले कञ्चनपुरको दोधाराचाँदनीमा पुगेर बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका थिए।
बाढीपहिरोको जानकारी लिएपछि देउवाले प्रभावित र सरोकारवाला निकायसँग छलफलमा बसेका थिए।
छलफलमा देउवाले आफू काठमाडौं फर्केर क्षतिपूर्तिका लागि काम सुरू गर्ने बताए।
प्रधानमन्त्री देउवा बिहीबार राति धनगढीमै बस्ने र शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको सुरक्षा निकायले जानकारी दिएका छन्।