स्वास्थ्यमा सुधार नभएपछि नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनलाई थाइल्यान्डको बैंककबाट चीनको सेन्जेन लगिएको छ।
पुननिकट स्रोतका अनुसार उनलाई सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको हो।
विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका पुन डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए।
नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन गएका छन्। उनीहरू आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरू हुने बताइएको छ।
बैंककको समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरूले अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए। काठमाडौंबाट बैंकक लैजाँदा पुनको जण्डिस (बिलरुविन) को तह बढेर १८ पुगेको थियो। थाइल्यान्डमा उपचार गरेर घटेको बिलरुविन पछि अति नै बढेको पुननिकट स्रोतले बतायो।
‘त्यसपछि अहिले घटेर २२ पुगेको छ,’ स्रोतले भन्यो।
यसरी बिलरुविन धेरै तलमाथि गर्दा शरिरका अन्य अंगहरूमा पनि त्यसको असर पर्न सक्ने भएको र समितिभेज अस्पतालकै सुझावमा उनलाई चीन लगिएको हो।
कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरेका थिए।
वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत असोज १३ गते बैंकक गएका थिए।
नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक गएका हुन्।
यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो। उनी नेपालका ग्राण्डी लगायतका अस्पताल र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका थिए।