सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा गोली चलेको छ।
आइतबार दिउँसो २ बजे बलरा नगरपालिका वडा नम्बर ९ मा वडा अधिवेशनमा गोली चलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
अधिवेशनमा दुई पक्षबीच विवाद हुँदा प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मी (पिएसओ)ले गोली चलाएका हुन्।
उनी नेपाल प्रहरीका हवल्दार हुन्।
'पार्टीको अधिवेशनमा विवाद हुँदा पिएसओले हवाइफायर गरेका हुन्,' बुढाथोकीले भने।
वडा अधिवेशनको विषयमा मन्त्री सिंहले असन्तुष्टि जनाएपछि विवाद भएको थियो।
दुवै पक्षबीच विवाद भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो। सर्लाहीमा क्रियाशिल सदस्यताको विषयलाई लिएर लामो समयदेखि संस्थापन र संस्थापन इतरबीच विवाद चलिरहेको छ। यसअघि खटाइएका निर्वाचन अधिकृत विनोद कार्की र दीवाकरराज पाण्डेबीच विवादका कारण राजीनामा दिएर काठमाडौं फर्केका थिए।
दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेमाथि मंसिर २ गते हातपात भएको थियो।
त्यतिबेला पनि मलंगवास्थित पार्टी कार्यालयमा दुई पक्षबीच विवाद हुँदा मन्त्री सिंहका पिएसओले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेका थिए।
जसका कारण झडप हुँदा निर्वाचन अधिकृत पाण्डेयले राजीनामा दिएका थिए। त्यसपछि केन्द्रीय निर्वाचन समितिले दुवै समूहका नेताहरूलाई काठमाडौं बोलाएर सहमति गराई गएको मंगलबार भरत बहादुर राउतलाई निर्वाचन अधिकृतको रूपमा खटाएको थियो।
विवादकै कारण सर्लाहीमा अहिलेसम्म सर्लाहीमा वडा अधिवेशन सम्पन्न हुन सकेको छैन।
झण्डै १ सय ६५ वटा वडामा अधिवेशन सम्पन्न भएको र करिब २५ वटा वडामा बाँकी रहेको निर्वाचन अधिकृत राउतले बताए।
‘भोलि निर्वाचन प्रक्रियाबाट १५-२० वटा वडामा अधिवेशन हुनेछ। जहाँ विवाद हुन्छ त्यहाँ सर्वदलीय मिटिङ राखेर सर्वसम्मतिले गरिनेछ,’ उनले भने।
वडा अधिवेशन सकेर मंसिर १७ गतेसम्म संघ र प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको उनले बताए। विवादकै कारण सर्लाहीमा पालिका र जिल्ला अधिवेशन, महाधिवेशन सकेपश्चात मात्र गरिने जिल्ला सभापति नागेन्द्र रायले बताए।