नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको टोलीले 'ठगको फन्दा'मा परेर ११ महिना अगाडि जेल परेका बाराको परवानीपुर-१ का उमाशंकर रायभारलाई नख्खु कारागार पुगेर भेट गरेका छन्।
आज युवा संघ नेपालको अध्यक्ष नरेश शाहीको नेतृत्वमा नख्खु कारागारमा भेट गरी भारलाई ठगहरू खोज्न सहयोग गर्ने प्रतिबद्धता दिएको संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले जानकारी दिए।
राजस्व अनुसन्धान विभागको अनुसन्धानपछि उच्च अदालत पाटनमा रायभारविरूद्ध राजस्व छलीको मुद्दा दर्ता भएको थियो।
रायभरमाथि करिब २८ करोड रुपैयाँ राजस्व छली गरेको अभियोग लगाइएको छ।
त्यही अभियोगमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमको इजलासले गत वर्षको फागुन १९ मा रायभरलाई ७५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो।
उक्त धरौटी रकम बुझाउन वा जेथा जमानत वा बैंक जमानत राख्न नसके उनलाई थुनामा पठाउन दिएको आदेश बमोजिम रायभर नख्खु कारागारमा थुनामा छन्।
तत्कालीन समयमा काठमाडौं कोटेश्वरमा बस्दै आएका सर्लाहीको साविक गोडैता गाविस– ६ (हाल गोडैता नगरपालिका–८) का सरोजकुमार मिश्रले रायभरको नागरिकताको फोटोकपी लिएर काठमाडौंमा ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामका दुई कम्पनी दर्ता गराएका थिए। साथै मिश्रले नै सिटिजन्स बैंकमा खाता खोलेर बैंकसम्बन्धी सम्पूर्ण कारोबारको अख्तियारी आफैंले लिएका थिए।
रायभरलाई ब्लु क्रस ट्रेडर्समार्फत् १५ करोड ८७ लाख ७ हजार ९ सय १३ र जेन सप्लायर्समार्फत १२ करोड ३ लाख ४३ हजार ७ सय ३९ रुपैयाँ छलेको अभियोग लगाइएको छ।
दुवै कम्पनीबाट गरी छलेको भनिएको २७ करोड ९० लाख ५१ हजार ५ सय ५२ रुपैयाँ जरिवाना र मुद्दाको फैसला हुने समयसम्मको थप जरिवाना रकम उनीबाट असुल्नुपर्ने विभागको मागदाबी छ।
साथै राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम पाँच वर्षसम्म कैद गर्न पनि माग गरेको छ।
राजस्व अनुसन्धान विभागले उच्च अदालतमा दर्ता गराएको ८७ पृष्ठ लामो अभियोग पत्र, उमाशंकरले अदालतमा दिएको बयान, अदालतको आदेश र उमाशंकरका परिवारसँगको कुराकानीबाट मिश्रले उमाशंकरजस्ता सिधासाधा युवाको कागजात दुरूपयोग गरेर ठूलो रकम कर छली गरेको प्रस्ट हुन्छ ।
विभागले मिश्रले मूल्य अभिवृद्धि कर, आयकार र लाभांश कर ठगी गरेको भन्दै एक अर्ब ४ करोड २४ लाख ९९ हजार ७ सय २८ रुपैयाँ बिगो कायम गरेर बिगो र त्यति नै जरिवाना रकम उनीबाट असुल्न माग गर्दै मुद्दा चलाएको हो।
राजस्व छलीका मुख्य अभियुक्तहरू फरार छन्। तर, त्यसको मूल्य उमाशंकर जस्ता निमुखाले चुकाउनु परेकाले नेपालमा भएको माफिया र संगठित ठगविरूद्ध संघले सशक्त सामाजिक अभियान सञ्चालन गर्ने प्रवक्ता राईले बताए।