भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी मन्त्री रेणु यादवले आफ्नो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाएकी छन्।
गत माघ ५ गते पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो। उक्त सभामा उनले सिके राउतविरूद्ध विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
जनमत पार्टीका अध्यक्ष सिके राउतविरूद्ध लक्षित भाषण गर्दै मन्त्री यादवले गौर हत्याकाण्ड दोहोरिन सक्ने धम्की दिएकी थिइन्।
राउतका कार्यकर्ताले आफूलाई अवरोध गर्न खोजेपछि मन्त्री यादवले आक्रोशपूर्ण भाषण गर्दै राउतलाई धम्की दिएकी थिइन्।
‘तुफानसँग टकराउनु भयो भने तपाईंको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो। त्यो इतिहासलाई नबिर्सनुस्,’ मन्त्री यादवले भनिन्,‘म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु । तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस्। चिरफार गर्नुभयो भने बिरामी मर्नेछन्। फेरि घेराबन्दी गरेर तपाईंलाई मारिदिनेछन्। त्यसैले बस तपाईं रिसर्चमात्रै गर्नुहोस्।’
तर उनले आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्ति दिएको बताएकी छन्।
तर पछिल्लो समय विभिन्न माध्यमहरूले कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको भन्दै आफनो गम्भीर ध्यानाकर्षण भएको उनले बताएकी छन्।
'मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझ्न आएकोले सो प्रति गहिरो दु:ख व्यक्त गर्दै आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु। साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु', सोमबार विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्,मेरो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्दछु। साथै यसलाई सामान्य रूपमा लिन हार्दिक अनुरोध पनि गर्दछु। अगामी दिनमा यसप्रति सचेत रहनेछु।'
उनले विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई पदमुक्त गर्न माग उठिरहेको छ।
सम्बन्धित समाचार:
आफूलाई अवरोध गर्न खोजेपछि सिके राउतलाई मन्त्री यादवले दिइन् गौर घटना दोहोरिने धम्की (भिडिओ)
मन्त्री यादवको अभिव्यक्तिको जनमोर्चाले गर्यो विरोध
विवादास्पद अभिव्यक्ति दिएकी मन्त्री यादवलाई पदमुक्त गर्न माग