नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन्।
बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको बताएका हुन्।
उनले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरू चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे।
उनले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरश भएको टिप्पणी गरे।
उनले भने, ‘गठबन्धनजस्तो छ, नीति कार्यक्रम पनि तस्तै छ। यो इतिहासकै सबभन्दा नालायक, सारहीन, गन्तव्य, दिशाविहीन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरश छ यो। यसमा कुनै दृष्टिकोण छैन। कुनै गन्तव्य छैन। यसले मुलुकका आजका समस्या चिनेको छैन। समाधान दिने यसमा कुनै दृष्टिकोण छैन। समयको अपव्यय मात्रै हो यो।’
उपाध्यक्ष पौडेलले सरकारले अवलम्बन गरेका नीति तथा निर्णयहरूका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताए।
उनले आर्थिक संकटको बारेमा सरकार मौन रहेको बताए।
उनले विगतमा सकारले गरेका राम्रा कामहरूलाई यस सरकारले निरन्तरता नदिई नीति तथा कार्यक्रम पूर्वाग्रही रूपमा ल्याएको पनि बताए।
उनले भने, ‘आजका आर्थिक संकटको कारणको बारेमा यो सरकार पस्नै चाहँदैन। किनभने यो सरकारकै कारणले गर्दा, यसले अवलम्बन गरेका नीतिका कारणले गर्दा, यसले गरेका निर्णयका कारणले गर्दा मुलुक आर्थिक रूपमा यो भयानक संकटको सम्मुखमा आइपुगेको छ। तर त्यसप्रति यसले चुप्पी साँधेको छ। मौनता गर्देको छ। मानौं यसमा मुलुकको अर्थतन्त्र सबै लयमा छ। ठिक/ठाक छ भनेजस्तो गर्या छ। यो नीति कार्यक्रम पूर्वाग्रही पनि छ। सरकार निरन्तरतामा चल्ने, बुझिने चिज हो। हिजोका राम्रा कामहरूलाई तिनको निरन्तरतामा सरकार अगाडि बढ्नुपर्ने हो। तर हिजोका राम्रा कामहरूलाई यसले निरन्तरता दिन चाहेको छैन।’
नीति तथा कार्यक्रमले विगतमा अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उनको भनाइ छ। राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनालाई अगाडि बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उनले आरोप लगाए।
स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उनले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोसिस भएको बताए।
नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमसल रहेको उनले बताए।यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने उनले दाबी गरे।
उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरू हुने बताए।
आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने उनले बताए।
आगामी निर्वाचनपछि नेकपा(एमाले) को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उनले दाबी गरे।
उनले भने, ‘यो गठबन्धनको पटाक्षप आउने निर्वाचनमा हुनेवाला छ। गठबन्धनले जे गेन गर्न सक्ने हो, त्यो गरिसक्यो। अब यसको ओरालो यात्रा सुरू हुन्छ र आउने निर्वाचनमा गठबन्धनको पटाक्षप हुन्छ। म तपाईंहरूसँग फेरि दाबी गरेर भन्छु, आउने निर्वाचनमा नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरा कसैले रोक्न सक्दैन।’
उनले नीति तथा कार्यक्रमले मुलुकको आर्थिक संकटका कारणहरूलाई चिनेर त्यसको निराकरण गर्नेगरी ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए।