नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन्।
आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरुले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताए।
मन्त्रीहरुले राजीनामा पत्र बुझाउँदै पार्टीले आवश्यकता अनुसार सो पत्र बाहिर ल्याओस् भनेको उनले जानकारी दिए। उनले सो राजीनामा पत्र गोजिमा लिएर हिँडिरहेको भन्दै कुनै पनि बेलामा सो पत्र सार्वजनिक गर्ने उल्लेख गरे।
‘केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिनुभएको छ। पार्टीले जुन बेला बाहिर ल्याउने हो त्यो राजीनामा पत्र ल्याइदेओस् भन्नुभएको छ। त्यो म गोजीमा लिएर हिँडिरहेको छु’, उनले भने, ‘कुनै बेला त्यो राजीनामा पत्र बाहिर प्रेसमा पठाएर त्यसलाई म सार्वजनिक पनि गर्नेछु। अरू मन्त्रीहरुले पनि त्यस्तै ढंगले राजीनामा पत्र पठाउनुहुनेछ।’
अध्यक्ष नेपालले अन्य मन्त्रीहरुले पनि आफूलाई राजीनामा पत्र पठाउनेमा विश्वास व्यक्त गरे। उनले मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै सो आधारमा सरकारले तुरुन्त मन्त्रीपरिषद् पुनर्गठन गर्नुपर्ने बताए।
‘राजीनामा पत्र नै चाहिँदैन। पुनर्गठन गर्नका लागि हामीले पठाएको पत्र नै पर्याप्त छ। त्यस आधारमा यो सरकारले तुरून्त त्यो निर्णय लागू गर्ने कुरामा लागोस्,’ उनले भने।