सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन्।
आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका हुन्।
उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको बताए। सभामुख सापकोटाले संसदमा नागरिकता विधेयक अड्किएर बसेकाले दर्जन भन्दा बढी ज्ञापनपत्र आउने गरेको बताए।
उनले नागरिकता विधेयक संसदबाट पास हुन नसक्दा युवाले सुनौलो अवसर गुमाइरहेको बताए। उनले केही गर्छु भन्ने युवाहरुलाई नागरिकता दिन नसक्दा देशलाई ठूलो क्षति भएको भन्दै नागरिकता नपाएकालाई अन्याय भएको बताए। उनले बजेट अधिवेशनबाट नै ८ वटा प्रतिस्थापन विधेयक पास गर्नसके जनतामा सरकारले केही गर्दैछ भन्ने आशा लाग्ने दाबी गरे।
‘संसदमा नागरिकता विधेयक अड्किरहेको कारणले दर्जनौं डेलिकेशनहरु म भए ठाँउमा आएका छन्। अत्यन्तै, धेरै मार्मिक युवाहरु उमेर ढल्किन लागेको छ तर नागरिकता पाएका छैनन्। अध्ययन गर्ने सुनौला अवसरहरु गुमिरहेका छन्। ठूलो क्षति भएको छ। असाध्यै धेरै अन्याय भइरहेको छ’, उनले भने, ‘मैले राजनीतिक पार्टीका नेताहरुसँग धेरै चरणमा कुरा गरको छु। प्रधानमन्त्रीसँग नागरिकता विधेयक यही सदनबाट पारित गर्नुपर्छ। त्यस्तै ८ वटा प्रतिस्थापन विधेयकहरु पनि पास गर्न सकिन्छ। बजेट अधिवेशनमा पनि दर्जन बढी विधेयकहरु पास गर्न सक्यौं भने जनतालाई गर्दा हुनेरहेछ भन्ने हुने थियो। गर्दैछ भन्ने आश लाग्ने थियो।’
सभामुख सापकोटाले देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताए।
उनले आफू सधैँ आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको बताए। सभामुख सापकोटाले भ्रष्टाचार भनेको कुनै बजेट वा आर्थिक सवालसँगको मात्रै कुरा नभइ देश र राष्ट्रियतासँग जोडिएको विषय भएको बताए।
उनले भ्रष्टाचार बढ्दै गयो भने भष्ट्राचारले देशलाई कोल्याप्स पार्ने बताए। सभामुख सापकोटाले सुशासन भ्रष्टाचार नियन्त्रण गुणस्तरीय कानून निर्माण भएपनि ठिक ढङ्गले कार्यान्वयन भएको भन्दै गुनासो गरे।
उनले लोकतन्त्र भनेको जीवनधारा र लोकतन्त्रको आत्मा भनेको संसद रहेको बताए। उनले तीन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने एक मात्रै फोरम भने संघीय संसद रहेको दाबी गरे।
‘संसदमा हाम्रो अरू कुनै स्वास्र्थ छैन । स्वास्थ्य छ भने देशको स्वास्थ्य छ, यो देशको सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने छ । भ्रष्टाचार कुरा गर्दा भ्रष्टाचार भनेको कुनै बजेटसँगको कुरा मात्रै होइन आर्थिक सवालसँगको मात्रै कुरा होइन । भ्रष्टाचार देश र राष्ट्रियता सँगको कुरा हो । भ्रष्टाचार बढ्दै गयो भने त्यो सुरक्षाको पनि सवाल हो। भ्रष्टाचारले नै देशलाई कोल्याप्स गर्छ’, उनले भने, ‘त्यसपछि देश समाप्त हुने दिशातिर जान्छ । सुशासन भ्रष्टाचार नियन्त्रण गुणस्तरीय कानून निर्माण त भयो । त्यसको ठिक ढङ्गले कार्यान्वयन भएको छ कि छैन? न्यायलयमा ठिक ढङ्गले कानून कार्यान्वयन भए नभएको निगरानी गर्ने अधिकार छ।’
सभामुख सापकोटाले संसदले जनताका कुरालाई आत्म साथ गर्नसक्नु नै सफलता हुने बताए। उनले पछिल्लो समय विश्वमा दर्शन, विचार र सिद्धान्तका बारेमा छलफल भन्दा पनि व्यापारमा बढी केन्द्रित भएको बताए।
उनले संसदीय समितिलाई बढीभन्दा बढी क्रियाशील बनाउने सन्दर्भमा आज सार्वजनिक पुस्तकबाट पनि प्ररेणा मिल्ने विश्वास व्यक्त गरे।
उक्त पुस्तकमा टिप्पणी गर्दै वरिष्ठ पत्रकार एवं इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापाले नेपालको संसदीय मामिला र संसदीय समितिका बारेमा जानकारी लिन पुस्तक उपयोगी रहेको बताए।