नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गरेका छन्।
सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।
उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे।
मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सके जति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए।
उनले नेताहरूले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमानदारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताए।
उनले भने, ‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौं। मुलुक चलाउने मान्छे पनि घमण्डी भयौं। कर्मचारीको बारेमा त के भनौं र? तर हामीले आफ्नो तर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौं। आफ्नो बचावटको लागि हामी नेताहरू नै आफू बच्नको लागि सुरक्षित नीति नियम बनाउने। आफूलाई संरक्षण गर्ने किसिमका कानून बनाउन खोज्ने, मुलुकलाई इमानदारीपूर्वक योगदान गरौं। कुनै पनि व्यक्तिले स्ट्रङ कमिटमेण्ट नगर्दासम्म मुलुक बन्दैन। हामीलाई अप्ठ्यारो त छ नि, घुस खान पाउँदा पैसा हुन्छ, अरू बद्मासी गर्दा अरू होला। यो तरिकाले त मुलुक बन्दैन रहेछ नि। देश बनाउनको लागि सबैले सामूहिक रूपमा प्रतिवद्धता जनाऔं।’
मन्त्री चौधरीले देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिबद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभई सामूहिक प्रतिबद्धता जनाएर काम गर्नुपर्ने बताए।
उनले मन्त्रीहरूले घुस खाँदा पैसा धेरै कमाउने र मुलुक नबन्ने र घुस नखाँदा पैसा नहुने भएकोले अप्ठ्यारो रहेको बताए।