करिब नौ महिनापछि विवेकशील साझाको पार्टी कार्यालय बखुन्डोलमा बुधबार मिलन पाण्डे देखिएका छन्।
०७८ पुस ६ मा बसेको पार्टी कार्यसम्पादन समिति बैठकले साधारण सदस्यसमेत नरहने गरी पाण्डेलाई कारबाही गरेको थियो। उनी त्यसभन्दा पहिलेदेखि नै कार्यालय गएका थिएनन्।
विवेकशील साझाका संयोजक रहेका पाण्डेलाई सम्बोधन गरी अध्यक्ष मिश्रले '०७८ पुस ६ गते मंगलबार जारी गरेको पत्रमा पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानूनबमोजिम कारबाही अघि बढाइने' चेतावनी दिइएको थियो।
पार्टी निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले पाण्डेलाई कारबाही गरेको थियो।
यो हेर्नुस्:
अध्यक्ष मिश्रले ल्याएको विचारभन्दा माथि देश दस्तावेजमाथि पाण्डेसहित उनी पक्षका नेताहरूले विरोध गरेका थिए। पाण्डेसहितले ०७८ असोज २० मा अर्कै दस्तावेज 'व्यक्तिभन्दा माथि विधि' ल्याएका थिए।
यसपछि पार्टीमा मिश्र र पाण्डे पक्षबीच पार्टीले लिने विचारलगायतमा बिबाद भएको थियो। गत फागुन २९ को केन्द्रीय कार्यसम्पादन समिति बैठकले पाण्डेनिकट २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाउने निर्णयसमेत गरेको थियो।
तर वैशाख ३० को स्थानीय चुनावसम्म आइपुग्दा विवेकशील साझाको परिस्थिति बदलिएको थियो।
स्थानीय चुनावको मतपरिणामलाई लिएर अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएको नयाँ परिस्थिति र सन्दर्भमा पाण्डे बखुन्डोल कार्यालयमा फर्किएका छन्- अनौपचारिक रूपमा।
बुधबार १५ असार (धान दिवसका अवसरमा) दहीच्युरा खाने कार्यक्रममा पाण्डे बखुन्डोलस्थित विवेकशील साझाको कार्यालयमा देखिएका हुन्।
गत जेठ ११ गते अध्यक्ष मिश्रले पार्टीबाट राजीनामा दिई आफू साधारण सदस्य मात्रै रहेर काम गर्ने बताएका थिए।
मिश्रले दिएको राजीनामाबारे पार्टीमा औपचारिक छलफल भएको छैन। मिश्रले राजीनामा दिएको एक महिना भइसक्दा पनि पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको छैन।
मिश्रले राजीनामा दिँदै संयोजक पाण्डेसहितलाई गरिएका कारबाही फिर्ता लिन आग्रह गरेका थिए।
‘मैले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरूद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु,’ मिश्रले भनेका थिए।
पाण्डेनिकट एक नेताका अनुसार आज पार्टीका सदस्यहरूको निम्तोमा उनी बखुन्डोलस्थित कार्यालय पुगेका हुन्। मिश्र पक्षका नेताहरू पनि उक्त कार्यक्रममा सँगै देखिएका थिए।
‘राजनीतिक रूपमा उहाँलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको थियो। तर प्राविधिक रूपमा निर्वाचन आयोगमा अहिले पनि अध्यक्ष रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे नै हुनुहुन्छ,’ ती नेताले भने, ‘उहाँ करिब नौ महिनामा आज पार्टी कार्यालय जानुभयो। अब कसरी अघि बढ्ने भन्ने विषयमा अनौपचारिक कुराकानी पनि भए।’
पार्टी अध्यक्ष को हुने भन्ने विषयभन्दा पनि पार्टीलाई कसरी अगाडि लैजाने र सिद्धान्त के लिने भन्नेजस्ता विषय चुनौतीपूर्ण रहेको पाण्डेनिकट ती नेताले बताएका छन्।
‘तत्काल अध्यक्ष को भन्ने भन्ने विषय प्रमुख होइन। त्यो त महाधिवेशनले नै टुंगो लगाइहाल्छ, अहिले कसैलाई अध्यक्ष तोकेर गए भइहाल्थ्यो,’ ती नेता भन्छन्, ‘तर पार्टीले कस्तो सिद्धान्त लिनेभन्नेजस्ता विषय प्रमुख हो।’
आज पाण्डे कार्यालयमा देखिए पनि अध्यक्षबाट राजीनामा दिएका मिश्र भने कार्यालय आएका थिएनन्। ‘अध्यक्षबाट राजीनामा दिएपछि सायद उहाँ कार्यालय आउनु भएको छैन,’ विवेकशील साझाका एक नेताले भने।
मिश्रले आफू साधारण सदस्य रहेर सक्रियरूपमा राजनीतिमा रहने पटकपटक दोहोर्याइरहेका छन्। ‘म पार्टी अध्यक्षका रूपमा फर्किन्न। साथीहरू मिलेर निकास खोज्नुस् भनेर उहाँ (रवीन्द्र मिश्र) ले भन्नुभएको छ,’ मिश्रनिकट एक नेताले भने।