नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार काठमाडौंमा धान रोपेर धान दिवस मनाएको छ।
काठमाडौंको तारकेश्वर स्थित एम. डि. एस बहुउद्देशीय कृषि केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँगै धान रोपेर क्रान्तिकारीले धान दिवस मनाएको हो।
क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुन सहितका नेता कार्यकर्ताहरूले धान रोपेर असार १५ मनाएको यादव ढुंगानाले बताए।
विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि ओेपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो।
नेपाली कृषकहरू वर्षभरका लागि खाद्यान्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिने चलन छ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला,’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गर्ने प्रचलन रही आएको छ।
गर्मीको यो समय रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत गर्ने गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा छ।