नेपाली कांग्रेस गोरखाले यसपालि क्षेत्र नम्बर २ अरू पार्टीलाई छाड्न नसकिने प्रष्टाएको छ।
गोरखा पुगेर केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले यसपालि गोरखा क्षेत्र नम्बर २ अरूलाई छाड्न नसकिने बताए।
पाँच वर्षअघि २०७४ मा गोरखा २ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई कांग्रेसले समर्थन गरेको थियो।
यसपालि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन गर्ने र गोरखामा एक-एक क्षेत्र बाँड्ने तयारी गरिएको पाण्डे बताउँछन्।
नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराई पनि गोरखा २ बाट चुनाव लड्ने तयारीमा छन्। उनले आफू सत्ता गठबन्धनमै रहेकोबारे केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा बताएका थिए।
प्रधानमन्त्री देउवानिकट नेता पाण्डे भने यसपालि गोरखा २ अरूलाई नछाड्न पार्टीभित्रैबाट माग र दवाव आइरहेको बताउँछन्।
उनले गोरखाका प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र बराबर लिने गरी कांग्रेस-माओवादीबीच चुनावी तालमेल हुने बताए।
‘स्थानीय चुनावमा आएको मत हेर्ने हो भने कांग्रेस-माओवादीको उस्तैउस्तै छ,’ गोरखास्थित पार्टी कार्यालय तीनधारेमा आज आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, ‘सत्ता गठबन्धनमा रहेका अन्य दलको उपस्थिति यहाँ कमजोर छ।’
गोरखामा प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा क्षेत्र ४ वटा छ। गोरखा १ प्रतिनिधि सभा क्षेत्र माओवादीलाई छाड्ने र गोरखा २ कांग्रेसले राख्ने तयारी गरेको हो।
‘यसअघि गोरखा २ बाबुराम भट्टराईलाई हामीले छाडेको हो। रूखमा भोट हाल्न नपाएकोमा गोरखा २ का कांग्रेस कार्यकर्ता रूष्ट छन्,’ पाण्डेले भने, ‘जितेपछि उहाँ (बाबुराम) ले कांग्रेसजनलाई नै चित्त दुख्ने अभिव्यक्ति दिनुभयो।’
गोरखा २ अरूलाई नछाड्न सभापति शेरबहादुर देउवालाई पनि आग्रह गरिसकेको उनले बताए।
‘सधैं अरूलाई छाड्दा कार्यकर्ताले बिद्रोह गर्न सक्छन्,’ उनले भने, ‘गोरखा २ मा उठ्ने मेरो पनि चाहना छ तर पार्टीले निर्णय गर्छ।’
गोरखा २ मा यसअघि वामगठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई सात हजार बढी मतान्तरले बाबुरामले चुनाव जितेका थिए।