प्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई स्वदेशभित्रै उचित शिक्षा र रोजगारी सुनिश्चित गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री देउवाले भविष्य खोज्न विदेश जाने र स्वदेश नफर्कने अवस्थाको अन्त्य गरी नेपालमा नै उचित शिक्षा र रोजगारीको अवसरको सृजना गर्नुपर्ने धारणा राखेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा शुक्रबार राष्ट्रिय युवा परिषदद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘युवा शक्ति, साहस र सृजनाका सागर हुन्।’
देउवाले परिवर्तनको संवाहक मानिने युवा वर्गको साथ लिएर मात्र यो मुलुकको विकास र समृद्धि अघि बढ्ने बताए।
प्रधानमन्त्री देउवाले भने, ‘युवा गाँउबाट सहर, सहरबाट वैदेशिक रोजगारीमा जान बाध्य भएका छन्। भविष्य खोज्न विदेश जाने र स्वदेश नफर्कने अवस्था सृजना भएको छ।’
देउवाले यो परिस्थितिको अन्त्य गरी नेपालमा नै उचित शिक्षा र रोजगारीको अवसरहरूको सृजना गर्न सबै उत्तरदायी बन्नुपर्ने बताए।