नेपाली कांग्रेसबाट उम्मेदवार भई गत वैशाखको स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई आज पनि कांग्रेसले प्रशिक्षण दिएको छ।
महामन्त्री गगन थापाले कांग्रेसको संकल्प पत्र-स्थानीय सरकारको मार्गचित्र, प्राथमिकता र प्रतिज्ञा विषयमा प्रशिक्षण दिएका हुन्। थापासँगै प्रताप पौडेल र दिपेश विष्टले यो विषयमा प्रशिक्षण दिएका हुन्।
यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक मुद्दा र कांग्रेसका अडान विषयमा प्रशिक्षण दिने कार्यक्रम छ।
प्रवक्ता प्रकाशशरण महतले निर्वाचन तयारी र प्रचारप्रसार अभियानबारे प्रशिक्षण दिँदैछन्।
यस्तै स्थानीय सरकार असल अभ्यास र अनुभवबारे नृपबहादुर बड, भीमप्रसाद ढुंगाना, वंशलाल तामाङ, दिलिपप्रताप खाण, विजयशंकर यादव, महेश खरेल, विमला राई, शेख वकिल, लेखनाथ पोख्रेलले प्रशिक्षण दिँदैछन्।
यस्तै नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र पछिल्लो घटनाक्रमबारे बालकृष्ण खाणले प्रशिक्षण दिनेछन्।
स्थानीय सरकारको पार्टी र जनतासँगको सम्बन्धबारे उपसभापति पूर्णबहादुर खड्का र रूद्र शर्माले प्रशिक्षण दिने कांग्रेसले जनाएको छ।
सोमबार सन्तोषमणि नेपालले प्राकृतिक स्रोत व्यवस्थापन र अन्तरसम्बन्धबारे प्रशिक्षण दिएका थिए। स्थानीय तहको योजना तर्जुमाबारे विश्वनाथ पौडेलले प्रशिक्षण दिए भने राजश्वको अधिकार र वित्तिय व्यवस्थापनबारे जगदीश भट्टराईले प्रशिक्षण दिएका छन्।
संविधान र स्थानीय सरकार: सञ्चालन र व्यवस्थापनबारे काशीराज दाहालले प्रशिक्षण दिएका छन्।
वैशाखमा भएको स्थानीय चुनावबाट जितेर आएका जिल्ला समन्वय समितिका ३४ जना प्रमुख, २३ जना उपप्रमुख, १४१ जना मेयर, ११० जना उपमेयर, १८८ जना अध्यक्ष र १९० जना उपाध्यक्षलाई कांग्रेसले प्रशिक्षण दिएको हो।