नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज नबस्ने भएको छ।
आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकको कारणले स्थगित भएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए।
स्थायी कमिटी बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ।
आजको बैठकमा स्थायी कमिटी सदस्यले पूर्णता पाउने र पदाधिकारी समेत चयन गर्ने बताइएको थियो।
बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गरेका थिए।
आजको बैठकमा पदाधिकारीको नाम प्रस्ताव हुने बताइएको थियो। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा हुने यसअघि प्रचण्डले बताइसकेका छन्।
पम्फा भुसाल, हरिबोल गजुरेल, मात्रिका यादव, गणेश साह लगायतको उपाध्यक्षमा चर्चा छ। भुसाल र गजुरेलले महासचिव दाबी गरेका थिए।
वरिष्ठको आधारमा महासचिव बनाउने भनेर प्रचण्डले भनेकाले देव गुरूङको चर्चा छ। गुरूङ प्रचण्ड, श्रेष्ठ र महरापछिको वरीयतामा छन्।
महासचिवको दाबी गरिरहेका प्रभावशाली नेताहरू वर्षमान पुन र जनार्दन शर्माको उपमहासचिवमा चर्चा छ। त्यस्तै, गिरिराजमणि पोखरेलको पनि उपमहासचिवमै चर्चा छ।