जनता समाजवादी पार्टीले गठबन्धनमा आफूहरूलाई पेल्न खोजे बाहिरिने चेतावनी दिएको छ।
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य रामसहाय प्रसाद यादवले यस्तै हो भने आफूहरू अरू दलसँग मिलेर अघि बढ्न सक्ने बताए।
‘हामीलाई अलिकति पेल्न खोजिएको छ। यस्तै हो भने हामी अरू दलसँग तालमेल गरी अगाडि बढ्न सक्छौं। लोसपालगायत अरू साना दल या एमालेसँगै पनि तालमेल गर्न सक्छौं’,सेतोपाटीसँग कुरा गर्दै उनले भने।
यस्तै स्थिति भयो भने आफूहरू तालमेलका लागि खुला रहने समेत उनले बताए।
आफूहरूले दाबी प्रस्तुत गरे पनि जुन खालको प्रस्ताव आएको छ त्यसमा भने असहमति रहेको उनले बताए।
‘३२ सिटमा हाम्रो दाबी हो। ३२ नै सिट चाहिन्छ भन्ने थिएन। तर भित्तामै पुग्नेगरी १६ मा झार्दिन पनि भएन। जुन खालका प्रस्ताव आएका छन्। त्यसमा हाम्रो असहमति छ’, उनले भने।
जसपा प्रवक्ता मनिष सुमनले भने अहिल्यै नै गठबन्धनबाट बाहिरिने निर्णय नगरेको बताए।
तर जे प्रस्ताव आएको छ त्यसमा भने असन्तुष्टि रहेको उनको भनाइ छ।
‘यो अवस्थामा गठबन्धनबाट भएन भने हामी अरूसँग तालमेलका लागि खुला रहन्छौं। हामी एक्लै पनि चुनाव लड्न सक्छौं’, उनले भने, ‘तर जुन प्रस्ताव आएको छ। त्यो हाम्रो लागि अमान्य छ।’