जनता समाजवादी पार्टी(जसपा)का कार्यकारिणी सदस्य रकम चेम्जोङले सत्ता गठबन्धन र एमालेमध्ये जसले धेरै सिट दिन्छ उसैसँग तालमेल गर्ने बताएका छन्।
शुक्रबार बिहान सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै जसपा कार्यकारिणी सदस्य चेम्जोङले एमाले र लोसपा दुवैसँग निर्वाचन क्षेत्र तालमेलका लागि छलफल भइरहेको बताए।
‘हामीले लोसपा र एमालेसँग कुरा गरिरहेका छौं। एमालेसँगको छलफल सकारात्मक छ। केही मिल्न बाँकी छ,’ उनले भने, ‘हामी आज पनि बस्छौं। सत्ता गठबन्धनमा रहेका दलहरूले अफर गर्छु भन्नुभएको छ। गठबन्धनले हामीले मागे अनुसार दियो भने उतै जान्छौं।’
सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलमा सदस्य समेत रहेका चेम्जोङले अहिले दिने भनिएको सिटमा ६ सिट थप्नुपर्ने बताए। जसपाले आफूहरूलाई १८ देखि २० सिटसम्म चाहिने माग गरेको छ।
एमालेसँग धेरै विषयमा छलफल भएपनि केही मिल्न बाँकी रहेको उनले बताए।
‘तालमेल गर्ने कुरा हो। तालमेल भनेको गठबन्धन होइन। हामी सिट तालमेलमा छौं। जहाँ हामीलाई बढी फाइदा हुन्छ उसैसँग तालमेल गर्ने हो,’ उनले भने, ‘मुख्य कुरा संख्या हो। त्यसमा अप्ठ्यारो मान्नुपर्ने कुरै छैन। जसले सिट धेरै दिन्छ उसैसँग गर्ने हो। जोसँग तालमेल गर्दा लाभ हुन्छ उसैसँग गर्ने हो।’