पोखरामा लर्निङ हाउस नामक कम्पनीमार्फत् चन्दा उठाउँदै आएकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा वेल्सले सेतोपाटी सञ्चार प्रालिसहित सञ्चारकर्मीविरूद्ध दिएको गाली बेइज्जती मुद्दामा जिल्ला अदालत कास्कीले फैसला दिएको छ।
न्यायाधीश प्रकाश खरेलको एकल इजलासले आइतबार कम्पनीका सञ्चालक मिसेलले दाबी गरेजस्तो व्यक्तिगत गोपनीयता हनन् एवं गाली बेइज्जती नदेखिएको भन्दै दाबी नपुग्ने ठहर गरेको जिल्ला अदालत कास्कीले जनाएको छ।
मिसेलले समाचारका विषयलाई व्यक्तिगत गोपनीयता हनन् एवं गाली बेइज्जतीको आरोपमा सेतोपाटीका प्रधान सम्पादक अमित ढकाल, पोखरा संवाददाता युवराज श्रेष्ठ, पत्रकारहरू सुमन ढुंगाना, अर्जुन गिरी लगायतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेकी थिइन्। उनले २०७७ भदौ १८ गते मुद्दा दायर गरेकी थिइन्।
मिसेलले खोलेको लर्निङ हाउसले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्दा कफी बनाउने बरिस्ता तालिम दिने र अंग्रेजी भाषा सिकाउने उद्देश्य राखेको छ। मिसेलले भने पोखरामा विभिन्न कार्यक्रम र सहयोगका नाममा नेपाल र विदेशबाट चन्दा संकलन गर्ने गरेकी थिइन्।
चन्दा संकलन गर्न उनले नेपालका कुनै पनि सरकारी निकायबाट अनुमति नलिएको र नेपालको कानुनविपरीत कार्य गरेको भन्दै सेतोपाटीले समाचार प्रकाशन गरेको थियो।
पोखरामा विभिन्न सहयोगका नाममा उनले ७ लाख अमेरिकी डलर अर्थात् अमेरिकी डलरको आजको मूल्यमा ९ करोड २४ लाख रूपैयाँ चन्दा संकलन गरेको आफ्नै वेबसाइटमा उल्लेख गरेकी थिइन्।
अध्यागमन विभागले कानुनअनुसार जुन उद्देश्यले विदेशी नागरिक नेपाल बसेको हो, त्यसबाहेक अन्य काम गर्न नपाउने भन्दै २०७६ सालमा उनको भिसाको म्याद नथप्ने निर्णय गरेको थियो।
तत्कालीन अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले मिसेलले गैरकानुनी क्रियाकलाप गरेको भन्दै म्याद नथप्ने निर्णय गरेको सेतोपाटीलाई बताएका थिए।
मिसेलको भिसाको म्याद सकिनै लाग्दा कोभिड–१९ महामारी रोक्न लकडाउन भएपछि सरकारले विदेशी नागरिकलाई नि:शुल्क भिसा दिएको थियो। लकडाउन सकिएपछि उनले अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन्।
सम्बन्धित समाचार :
नेपालीका नाममा ‘अवैध चन्दा’ उठाउँदै अमेरिकी नागरिक, कारबाही गर्न अध्यागमनले देखाएन चासो
नेपालीका नाममा ‘अवैध चन्दा’ उठाउँदै अमेरिकी नागरिक
अमेरिकी नागरिक मिसेललाई कम्पनी बन्द गरी देश छाड्न अध्यागमनको निर्देशन
'अमेरिकी नागरिक मिसेलको भिसा थपिँदैन, लकडाउन खुलेको ७ दिनभित्र नेपाल छाड्नुपर्ने'