नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार प्रदेश सभामा विश्वासको मत लिँदैछन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूका मागलाई सरकारले सम्बोधन नगरेकाले समर्थन गर्न नसकिने बताइन्।
‘हामीले हाम्रा माग पूरा गर्न धेरै पटक पहल गर्यौं। सरकारबाट आश्वासन दिने काम मात्रै भयो,’ उनले भनिन्, ‘हामी सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्न सक्दैनौं। त्यसैले विश्वासको मत दिदैनौं।’
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका सात जना सांसदहरू छन्। ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत चाहिन्छ। प्रदेश सभामा कांग्रेसका(१९), नेकपा (माओवादी केन्द्र) को सभामुख सहित(११), एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपाका १ र स्वतन्त्र सांसद १ जना छन्।
अहिलेको सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउनका लागि कांग्रेस र नागरिक उन्मुक्ति पार्टीमध्ये एउटा पार्टीको मत अनिवार्य जस्तै छ। त्यस्तो नभएमा नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदसहित सबैले मत दिनुपर्छ। त्यस्तो अवस्थामा दुबै पक्षमा २६ मत हुन्छ। यस्तो वातावरण बनेपछि निर्णायक मत सभामुखले दिएमा मात्रै एमालेका रावलले विश्वासको मत पाउँछन्।
तर यस्तो वातावरण बन्ने सम्भावना कम छ। एकीकृत समाजवादीले रावललाई विश्वासको मत नदिने बताएको छ।
सेतोपाटीसँग कुरा गर्दै सुदूरपश्चिममा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले आफूहरूले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
‘हामी विश्वासको मत दिन्नौं, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,’ उनले भने।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९, १२:०१:००