भरपर्दो सुरक्षा सामग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकलाई काठमाडौं महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रूपमा ज्याकेट हस्तान्तरण गरेका हुन्।
राष्ट्रियसभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले अग्रमोर्चामा खटिएका चिकित्सकहरूलाई मनोबल उच्च बनाएर संक्रमितको उपचारमा खटिन सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताए।
शाक्यले अन्य ठाउँको तुलनामा काठमाडौं अहिले तुलनात्मक रूपमा शान्त रहेको भन्दै चालिस लाख बढी जनसंख्या रहेको उपत्यकामा संक्रमण फैलियो भने भयावह अवस्था सिर्जना हुने भएकाले उपत्यकावासीलाई थप सचेतना फैलाउनका लागि चिकित्सकहरूको भूमिका महत्वपूर्ण हुने पनि बताए।
शाक्यले अहिले भारतबाट नेपाली नागरिक नेपाल आउने क्रम बढिरहेको र केही समयपछि खाडी, मलेसियालगायत तेस्रो मुलुकबाट पनि नागरिक नेपाल ल्याउने तयारी भएकाले चिकित्सकहरूको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिए।
‘एकै पटकमा धेरै नेपालीलाई ल्याउँदा उनीहरूलाई होल्डिङ सेन्टर र क्वारेण्टिनमा राख्नुपर्ने हुन्छ,’ शाक्यले भने, ‘त्यस्तो बेलामा कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाइँको अग्रमोर्चामा खटिने चिकित्सकहरूलाई आवश्यक सामग्रीको थप जरुरत पर्छ। त्यो बेलामा पनि हाम्रो तर्फबाट सक्ने सहयोग रहने नै छ।’