प्रहरीले बिरामी कुरूवालाई ठगी गरेको आरोपमा पाटन अस्पतालबाट एक पाकिस्तानीलाई पक्राउ गरेको छ।
मंगलबार महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी परेपछि आफूलाई पाकिस्तानी बताउने अहमद बर्लासलाई प्रहरीले पक्राउ गरेको हो।
उनले आफ्नो श्रीमती आइसियुमा भएको र आफ्नो बच्चा चाइल्ड वार्डमा भएको भन्दै एक सैनिकलाई ठगी गरेको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
‘श्रीमती बिरामी भएर आएका एक सैनिकलाई चार लाख ठगी गरेको रहेछ,’ उनले भने, ‘आज उजुरी परेपछि हामीले उसलाई प्रकाउ गरेका हौं।’
आफूलाई पाकिस्तानी भएको बताए पनि अहमदको पासपोर्ट भने भेटिएको छैन।
उनले प्रहरीलाई आफू सन् २०१८ मा नेपाल आएको बताएका छन्। उनले २ महिनादेखि ठगी कार्य गर्दै आएको प्रारम्भिक अनुसन्धानमा पाइएको एसएसपी राईले जानकारी दिए।
‘उनीबाट ठगिएका अरु ३ जना सम्पर्कमा आइसकेका छन्’ राईले भने ‘ठगिएका अरु पनि हुन सक्छन्, यसबारे अनुसन्धान भइरहेको छ।’