सरकारले लकडाउन हटाएसँगै पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा कोरोनाभाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।
झन्डै ४ महिना लकडाउन गर्दा पनि कोरोना संक्रमण नियन्त्रणमा नआएपछि लकडाउन हटाएको सरकारले नागरिकहरूले आफूलाई सुरक्षित राख्न विभिन्न मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ।
कोरोनाको संक्रमण कम गर्ने एउटा मुख्य मापदण्ड मास्क लगाउनु हो। तर बानी नपरेकाले र लापरबाहीले आममानिसहरू मास्क लगाउने कुरामा गम्भीर देखिन्न। कतिले मास्क नै लगाउँदैनन् भने लगाउने पनि राम्ररी लगाउँदैनन्, मुखमा लगाउनु पर्ने मास्क चिउडोमा झुन्ड्याउँछन्।
मानिसहरूलाई मास्क लगाउने कुरामा गम्भीर बनाउन अहिले सामाजिक सञ्जाल ट्वीटरमा ट्रेन्ड सुरू भएको छ- मास्क च्यालेन्ज।
गत बुधबार विश्व स्वास्थ्य संगठनले पनि वेयर अ मास्क च्यालेन्ज सुरू गरेको थियो। यो च्यालेन्ज नेपालमा सञ्जिव न्यौपानेले सुरू गरेका हुन्।
शनिबार बिहान उनले कोरोनाभाइरससम्बन्धी एउटा समाचार पढे। एक अध्ययनलाई उल्लेख गर्दै उक्त समाचारमा लेखिएको थियो- कोरोनाभाइरसको संक्रमण घटाउन लकडाउनले भन्दा ८० प्रतिशत मानिसले मास्क लगाएमा धेरै सहयोग मिल्छ।
'त्यो रिसर्च पढेपछि मास्कको च्यालेन्ज सुरू गर्ने सोच आयो,' न्यौपानेले सेतोपाटीसँग भने,'ट्वीटरमा प्राय:जसो केही न केही च्यालेन्जहरू आइरहेका हुन्छन्। मलाई पनि मास्क लगाउन चेतना बढाउनु पर्छजस्तो लाग्यो।'
उनले ह्यासट्याग वेयर अ मास्क भन्दै क्याप्सनमा रिसर्चको लाइनसहित फोटो हाले। उनले त्यसैमा पाँच जनालाई ट्यागसमेत गरे।
न्यौपानेले ट्वीटरमा शृङ्खला खतिवडा, सृष्टि काफ्ले, जेन बस्नेतलगायत पाँच जनालाई ट्याग गरी च्यालेन्जको सुरूवात गरे। त्यसकै तल केही डाक्टरहरूलाई पनि ट्याग गर्न थाले। त्यसै च्यालेन्जलाई स्वीकार्दै अन्यले पनि अरूलाई ट्याग गर्दै तस्विर हाल्न थालेपछि यो ट्रेन्डिङमा आएको हो।
'हामीले घरबाट बाहिर निस्किँदा जुत्ता चप्पल लगाए जसरी नै मास्क अनिवार्य लगाउन पर्ने भएको छ,' न्यौपानेले भने,'घर छेउकै पसल त हो नि भन्दै मानिसहरू मास्क नलगाई गएको देख्छु। त्यसरी नै त हो नि कोरोनाभाइरसको संक्रमण फैलिने।'
सरकारले बारम्बार मास्क लगाउन अनुरोध गर्दै आएको छ।
मास्क नलगाई बाहिर निस्किनेलाई गृह मन्त्रालय संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न थालेको छ।