समुदायमा गरिएको नमूना पिसिआर परीक्षणमा कपिलवस्तुको तौलिहवामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार मध्यान्न साढे १२ बजे आएको पिसिआर रिपोर्ट अनुसार तौलिहवाका १६ र कृष्णनगर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तौलिहवा बजारमा गरिएको परीक्षणमा पान पसल संचालन गर्नेदेखि जुत्ता पसल गर्नेलाई पनि कोरोना देखिएको छ।
गत साउन २१ गते जिल्ला सदरमुकाम तौलिहवा बजार क्षेत्रमा संकलन गरिएका २ सय २६ नमूना मध्ये १ सय १७ जनाको स्वाव परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ९८ जनाको स्वाव भने परीक्षणकै क्रममा छ।
यस्तै कपिलवस्तु अस्पतालबाट साउन २३ गते संकलन गरिएका ६ जनाको स्वाब परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
आइतबार थपिएका १७ जनासँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ। आइतबार थपिएकाहरु सामाजिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति भएको कार्यालयले जनाएको छ।
यसअघि कृष्णनगर नगरपालिकाबाट पठाइएका १ सय ३३ नमूनामध्ये १० जनामा कोरोना पोजेटिभ आएको थियो।
त्यस्तै साउन १९ गते कपिलवस्तु नगरपालिका क्षेत्रभित्र संचालित बैंक तथा वित्तीय संस्थामा काम गर्ने १३, मेडिकल हल तथा पोलिक्लिनिकमा काम गर्ने २, गैरसरकारी संस्थामा कार्यरत ३, स्वास्थ्यकर्मी १, शिक्षक २ तथा बजार क्षेत्रका ३ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
मायादेवी गाउँपालिकामा पनि समुदायमा गरिएको स्वाव संकलनमा एकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कृष्णनगर नगरपालिकामा साउन १८ गते गरिएको १ सय ३३ नमूना संकलनमा १० जनामा पोजेटिभ देखिएको छ। सबै नमूना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण भएको हो।
प्रदेश ५ का कोरोना संक्रमित बढी देखिएका ६ वटा जिल्लामा समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन धेरै जनसम्पर्क हुने विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुबाट नमूनाको रुपमा स्वाव संकलन गरिएको थियो।
जसमध्ये कपिलवस्तुमा ३ सय २० जनाको स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। तिमध्ये महाराजगन्ज नगरपालिकाबाट ७८, यशोधरा गाउँपालिकाबाट ५४, शिवराज नगरपालिकाको चन्द्रौटा बजारबाट ३३ नमूना संकलन गरिएको थियो।
त्यस्तै इलाका प्रहरी कार्यालय कृष्णनगर र ससस्त्र प्रहरी गरी २०, तौलिहवामा रहेका १२ वटा बैंक तथा वित्तीय संस्थाबाट ३८, तौलिहवाका स्वास्थ्यसँग सम्बन्धित मेडिकल, ल्याब लगायतबाट ३६ जनाको स्वाव संकलन गरिएको थियो।
स्वास्थ्य कार्यालयका अनुसार मायादेवी गाउँपालिकाबाट ३३, कृष्णनगरबाट ६, गैरसरकारी संस्थामा कार्यरत १० जना र तौलिहवा बजारका चिया पसल र अन्य पसल गरी ४० जनाको नमूना संकलन गरिएको थियो।