महिलाहरूसँग जरूरी फोन गर्नु छ भन्दै मोबाइल लुटेर भाग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका १५ स्वयम्भूका ३४ वर्षीय इम्तियाज उद्दिन र ३४ वर्षीय सुलभ श्रेष्ठलाई पक्राउ गरेको हो।
प्रहरीले असोज १३ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यसरी लुटपाट भएको सूचनाहरू प्राप्त गरेको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
प्रायजसो एकान्त ठाउँमा महिलाहरूसँग फोन माग्ने र प्रयोग गर्न लागेको जस्तो गरी लुटेर भाग्ने गरेको एसपी राठौरले बताए।
यस्तै खालका घटनाहरू बारम्बार दोहोरिएपछि परिसरले सबै वृत्तलाई इम्तियाज र सुलभको हुलिया पहिचान गरी पक्राउ गर्न परिपत्र गरेको थियो। सोही क्रममा उनीहरुलाई सोमबार बिहान नयाँबजारबाट पक्राउ गरेको थियो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। उनीहरूबाट तीन वटा मोबाइल र एउटा स्कुटर बरामद गरेको छ।
साथै यसरी नै अरू कसैको पनि मोबाइल लुटको भए प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।