सुर्खेतमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।
कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा वीरेन्द्रनगर–८ सुर्खेतका ८६ वर्षीय वृद्धको मृत्यु भएको हो।
मंगलबार दिउँसो १ बजे उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।
कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलका अनुसार उनलाई असोज ३० गते बेलुका उपचारका लागि भर्ना गरिएको थियो। अस्पताल भर्ना हुनुअघि उनमा ज्वरो र खोकी थियो।
कात्तिक १ गतदेखि आइसियूमा राखेर उनको उपचार गरिएको पौडेलले बताए। सोही दिन बिहान स्वाब संकलन गरी पिसिआर गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
नेपाली सेनाको समन्वयमा मंगलबार नै उनको शव व्यवस्थापन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । जसमध्ये ४ जनामा लक्षण सहितको कोरोना देखिएको डा. पौडेलले जानकारी दिए।