नेपाल–भारत सीमा नाका कोइलाबास क्षेत्रमा ‘लोडेड’ भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ।
सीमा प्रहरी चौकी कोइलाबासका प्रमुख प्रनानी नन्दराम केसीले सशस्त्र प्रहरीको गस्ती टोलीले गएराति दश बजेतिर उक्त भरुवा बन्दुक बरामद पारेको सेतोपाटीलाई बताए।
‘भालु खोला क्षेत्रमा पैदल गस्तीमा गएको समयमा सशस्त्र प्रहरीले बाटोमै बेवारिसे अवस्थामा फालिएको लोडेड भरुवा बन्दुक फेला पारेको रहेछ,’ केसीले भने, ‘बन्दुक सँगै २१ वटा छर्रा, तीन वटा केप, एउटा खुकुरी र चक्कुसमेत फेला परेको छ।’
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाका प्रमुख माधवप्रसाद ढुंगेलको नेतृत्वको गस्ती टोलीले गढवा गाउँपालिका वडा नम्बर ८ स्थित भालुखोला जंगलबाट हतियार फेला पारेर प्रहरीलाई बुझाएको प्रनानि केसीले जानकारी दिए।
त्यो भरुवा बन्दुक चोरी सिकारी गर्ने समूहले सुरक्षाकर्मीलाई देखेपछि छोडेर भागेको हुन सक्ने केसीले अनुमान गरे।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।