कपिलवस्तु र रुपन्देहीमा तीन जनाको डुबेर मृत्यु भएको छ।
कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ भने रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
शनिबार बिहान कमलको फूल टिप्न गएका दुई युवाको कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ५ मा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका वडा नं. ५ निवासी ३२ वर्षीय अशोक कुमार पाठक र २६ वर्षीय करम हन्स पाठक रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।
बिहानै पूजाको लागि फूल टिप्न गएका उनीहरू पोखरीमा डुबेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी घटनास्थलमा पुग्दा स्थानीयले एक जनाको शव पोखरी बाहिर निकालिसकेको र एक जनाको प्रहरीले निकालेको भण्डारीले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए।
त्यस्तै, शुक्रबार बुटवलबाट हराएका एक बालक शनिबार मृत भेटिएका छन्। बुटवल वडा नं. ८ दिपनगर बस्ने कृष्ण तिवारी र राधा तिवारीका १० वर्षीय छोरा निश्चल तिवारी शुक्रबार साँझदेखि सम्पर्कविहीन रहेका थिए।
उनी शनिबार दिउँसो बुटवल ७ स्थित भनभने खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।
साथीहरूसँग पौडी खेल्न गएका उनी खोलामा डुबेपनि साथीहरुले डरले कसैलाई नभनेका कारण सनिवार मात्र शव फेला पारिएको खत्रीले जानकारी दिए ।
परिवार तथा आफन्तले शुक्रबार र शनिबार खोजी गरे पनि कतै नभेटेपछि शनिबार उनीसँगै गएका साथीहरूसँग सोधपुछ गरी घटनास्थलमा खोजी गर्दै जाँदा खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
बालक बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ४ मा अध्ययनरत थिए ।